काठमाडौंमा ओलीलाई कालोझण्डाले स्वागत, दुई जना पक्राउ

काठमाडौं । दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीर्लाइ विरोधी दलका कार्यकर्ताहरूले कालोझण्डा देखाएर प्रदर्शन गरेका छन् ।

काठमाडौंको कलंकी मालपोत कार्यालयमा बुधबार बिहान ओलीलाई कालोझण्डा देखाइएको हो । ओलीलाई कालोझण्डा देखाएर प्रदर्शन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीलाई कालोझण्डा देखाएकै आरोपमा पक्राउ पर्नेहरूको नाम सार्वजनिक गरिएको छैन ।

कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान कलंकी आइपुगेका बेला कालोझण्डाको सामना गर्नुपरेको हो ।

पूर्वनिर्धाति समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरूले कालो झण्डा देखाएका थिए ।

उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । कालोझण्डा देखाउने क्रममा उनीहरूले ओलीविरुद्ध नारावाजी समेत गरेका थिए ।

मालपोत कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सरकारले लिए पनि नेपालको सम्भावना एक करोड पर्यटक भित्राउने रहेको बताए ।

त्यसका लागि प्रविधिको सहारा लिँदै अझै धेरै काम गर्न आवश्यक रहेको उनले बताएका छन् ।

Published : Wednesday, 2019 June 19, 3:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया