ओलीको पत्रकार सम्मेलन त्रुटीपूर्ण, शेरबहादुर देउवाले गरिदिए भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले गुठी विधेयकलाई संसदबाट फिर्ता लिनुपर्ने माग गरेका छन् ।

संसदको बुधबारको बैठकमा समय लिएर बोल्दै देउवाले संसदमा प्रवेश भइसकेको विधेयकलाई पत्रकार सम्मेलन गरेर फिर्ता लिन नपाइने बताए ।

‘संसदमा प्रवेश भइसकेको गुठी विधेयक पत्रकार सम्मेलन गरेर फिर्ता लिने ? मन्त्रीले पत्रकार सम्मेलन गर्ने ? प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने ?’, उनले भने, ‘संसद चलिरहेको बेला पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिन पाइँदैन । संसदबाटै गुठी विधेयक फिर्ता लिनुपर्छ ।’

मंगलबारको संसद बैठकमा आफूले समय माग गरिसकेको अवस्थामा समय नदिएको भन्दै देउवाले भने, ‘संसदमा बोल्न मैले समय माग गरेको थिए । संसारभरि यही प्रचलन छ । मैले बोलेको भएपछि प्रधानमन्त्रीलाई जवाफ दिन सजिलो हुने थियो ।’

सभापति देउवाले प्रमुख विपक्षी दलको नेताले बोल्न समय माग गर्दा समय दिनुपर्ने संसारभरिको प्रचलन रहेको बताए । ‘मैले पहिला नै समय माग गरिसकेको थिएँ । प्रधानमन्त्रीले हिजो जबरजस्ती बोल्न खोज्नुभयो । त्यसपछि सदन अबरोध भयो’, उनले भने, ‘सदन प्रतिपक्षको हो । संसारभरि यही हो मान्यता । गुठीसँग मात्रै । मैले धेरै कुरा बोल्नु थियो ।’

कांग्रेस संसदीय दलका नेता देउवाले संसदमा प्रस्तावित गुठी विधेयक बाहिर गएर फिर्ता लिने हो ? भनेर प्रश्न गरेका छन् । ‘त्योपनि मन्त्रीले पत्रकार सम्मेलन गरेर फिर्ता लिने हो ? संसद चलिरहेका बेला बाहिरबाट फिर्ता लिन मिल्छ ? प्रधानमन्त्रीजी ०४८ सालदेखि संसदमा रहेको मान्छे हो । उहाँलाई संसदीय प्रक्रियाका बारेमा थाहा छैन ?’, देउवाले भने, ‘उहाँ (केपी ओली)हरू ४८ दिनसम्म लगातार संसद अबरोध गर्नुभएको हो । गिरिजाप्रसाद कोइराला संसदमा बोल्दा बोल्दै ढल्नु भएको थियो ।’

सभापति देउवाले संसदमा बोल्ने प्रमुख विपक्षी दलले भएको बताए । उनले काम गर्ने भनेको सरकारले हो भनेका छन् । ‘बोल्ने प्रमुख प्रतिपक्षले हो । काम गर्ने सरकारले हो’, देउवाले भने, ‘मैले बोलेपछि बोलेको भए भइहाल्थ्यो नि ।’

सभापति देउवाले प्रधानमन्त्री ओलीको बेलायतको भिजिट असफल भएको बताए । ‘म पनि प्रधानमन्त्री थिएँ । बेलायत भ्रमणमा गएँको थिए । ओलीको बेलायत भ्रमण अफिसियल भिजिट होइन । मपनि गएको थिएँ । गोरखा सलामी लिएको भनिएको छ । मैले पनि लिएको हो । गोराहरूले सम्मान गर्न मानेन । गोरखाले सलामी दिएका हुन् के ठूलो भयो र ?’, उनले भने, ‘फ्रान्समा राष्ट्रपति कार्यकारी हुन्छ । राष्ट्रपतिलाई भेट्न सक्नु भएन । उहाँको विदेश भ्रमण असफल भएको छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘मिडिया काउन्सिल, सूचना तथा सञ्चार विधेयक, सुरक्षा परिषद सम्बन्धी विधेयक र मानवअधिकार आयोग विधेयक छ । संविधान र प्रेस स्वतन्त्रता विरोध छ । फिर्ता लिनुपर्छ ।’

मिडिया काउन्सिल विधेयक पास गर्न नदिने उनले चेतावनी दिए । ‘प्रेस स्वतन्त्रतामाथिको दमन हुँदै छ’, उनले भने, ‘सूचनाको हक सबैलाई हुन्छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता दिनैपर्छ । सूचनाको अधिकार सबैलाई दिएको छ । अनलाइनलाई रोक्न पाइँदैन ।’

देउवाले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने गरेर विधेयक ल्याइएको भन्दै विरोध जनाए । उनले भने, ‘सुरक्षा परिषद विधेयक रक्षा मन्त्री, सचिव, सेना, मन्त्रीमाथिको अविश्वास हो । सेना परिचालन गर्नु प¥यो भने सबैको सहयोग रहन्छ । पहिला उहाँहरूले नै समर्थन गरेको हो ।’

Published : Wednesday, 2019 June 19, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया