ओली सरकारको भण्डाफोर गर्दै कांग्रेसले जारी गर्‍यो अर्को विज्ञप्ति, बालुवाटारतिर खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारले हरेक ठाउँमा संसद र जनतालाई अपमान गर्दै आएको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरेर दुईतिहाइको बहुमतको घमण्डले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदलाई कुनै जानकारी नदिएर आठ दिनसम्म युरोपमा बरालिएको बताएका छन् ।

‘प्रधानमन्त्री देश बाहिर विदेश भ्रमणमा जाँदा संसदलाई सम्बोधन गरी कुन–कुन देशमा भ्रमण गर्ने, को–कोसँग के विषयका छलफल गर्ने र नेपाललाई त्यसबाट के प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी दिने प्रचलन हुन्छ’, खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री यूरोप भ्रमण जाँदा सदनलाई र जनतालाई कुनै जानकारी नै दिनु भएन ।’

उनले भनेका छन्, ‘प्रधानमन्त्रीको भ्रमणको पाँच दिन पछाडी मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्री यूरोप भ्रमणमा गएको जानकारी गराइयो ।’

‘आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले बोल्नका लागि समय माग गर्नु भएकोमा सम्माननीय सभामुखले संसदीय अभ्यासलाई उलंघन गर्दै प्रमुख प्रतिपक्ष दलको नेतालाई बोल्न समय उपलब्ध नगराएको प्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं’, खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको वेल घेर्नुपर्ने अवस्था सृजना भएको छ’, नेपाली कांग्रेसले भनेको छ, ‘सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य हो । यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।’

‘केही दिन अगाडि मात्र प्रधानमन्त्रीले जनप्रतिनिधिहरूको प्रश्नको उत्तर दिने क्रममा संसदमा गैरसंसदीय, अमर्यादित शब्दहरु प्रयोग गरेर संसदको मर्यादा घटाउने कार्य गर्नु भयो र सम्मानीय सभामुखले प्रधानमन्त्रीले बोल्दा प्रयोग गर्नु भएको अमर्यादित र गैर संसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउने रुलिङ्ग गर्नु प¥यो’, नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘प्रतिपक्ष, जनप्रतिनिधि र जनताले उठाएका जनअधिकारका कुराहरूलाई कुण्ठित गर्न र संविधानका प्रावधानहरूलाई उलंघन गर्दै संविधान प्रतिकूल कानून बनाउने कृयाकलापमा सत्तापक्ष अगाडि बढिरेहेको छ’, खाँणले भनेका छन्, ‘यस गैर संसदीय कृयाकलापको नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ ।’

‘आम नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता रक्षा एवं संसद सदस्यहरूको अभिव्यक्ति अधिकार रक्षा गर्न तथा संसदीय सर्वोच्चता कायम गर्न नेपाली कांग्रेस दृढतापूर्वक आफ्ना धारणा राख्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कम्युनिस्ट सरकारको हरेक कामलाई लचकताका साथ हेर्दै आएको नेपाली कांग्रेसले मंगलबार सभामुख कृष्णबहादुर महरा र प्रधानमन्त्री खड्गप्रसाद ओलीको व्यवहारले सीमा नाघेपछि बाध्य भएर रोष्टम (ह्वेल) घेराउ र नारावाजी गर्न पुगेको छ ।

नेपाली कांग्रेसले मंगलबारदेखि कम्युनिस्ट सरकारलाई कुनै पनि कुरामा छुट नदिने पक्षमा देखिएको छ । कांग्रेसको मंगलबारको रुद्ररुपबाट दुईतिहाइको कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री ओलीको मनमा चिसो पसेको छ ।

नेपाली कांग्रेस आक्रामक रुपमा सदनमा प्रस्तुत भएपछि आत्तिएका ओलीले सिंहदरबारमा आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस र नेपाली कांग्रेसका नेताहरूमाथि तेजोवद्ध गरेर अभिव्यक्ति दिएका छन् ।

ओलीको पत्रकार सम्मेलनले अब सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भिडन्तको संकेत गरेको नेताहरूले बताएका छन् ।

Published : Tuesday, 2019 June 18, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया