ओलीकाे पत्रकार सम्मेलनबारे कांग्रेसले दियाे एक घण्टाभित्रै कम्युनिस्टहरूलाई झट्का लाग्ने जवाफ

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुखबाट फेरि पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भूमिका प्रस्तुत हुन अत्यन्तै दुःखद भएको जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर सभामुख कृष्णबहादुर महरा कम्युनिस्त सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको लाचार छायाँका रुपमा प्रस्तुत हुनु अत्यन्तै दुःखद रहेको बताएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीबाट पत्रकार सम्मेलन मार्फत कतिपय विधेयक विरुद्धको सडकका आवाजहरूलाई ‘लोकतन्त्र विरोधी’को संज्ञा दिनु झनै आपत्तिजनक छ ।’

‘केही समय यता संसद र सडकमा सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सील लगायतका विधेयकहरु विरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नु पूर्व प्रतिपक्षी नेताले ती विषयहरु उपर आम नागरिकको भावना राख्न चाहनु विल्कुलै स्वभाविक थियो’, विज्ञप्तिमा भनिएको छ, ‘विधेयकहरूका विरुद्ध देशव्यापी रुपमा भइरहेका विरोधका स्वरहरूलाई विधिवत रुपले प्रतिपक्षी नेताले संसदमा प्रविष्ट गराए पछि प्रधानमन्त्रीले त्यस उपर आवश्यक सम्बोधन गर्ने कुरा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक कुरा हुन्थ्यो ।’

‘तर त्यस ढंगले सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्ने प्रपञ्च गर्दा संसदमा द्वन्द्व हुनु स्वभाविक थियो’, प्रवक्ता शर्माले भनेका छन्, ‘विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न त प्रधानमन्त्रीबाट प्रस्तुत भयो न त ‘सरकार बहुमतको संसद प्रतिपक्षको’ भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन सक्यो । प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा आजको घटना भयो ।’

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार सम्मेलन मार्फत् विधेयकहरू विरुद्धको आवाज र प्रदर्शनहरूलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’ संज्ञा दिनु घोर आपत्तिजनक छ । हिजो निर्वाचनमा मत दिइरहँदा तिनै नागरिक ‘महान्’ आज विरोधमा उभिंदा लोकतन्त्र विरोधी ? नेपाली कांग्रेस उहाँलाई स्मरण गराउन चाहन्छ सडकमा प्रस्तुत विरोधको आवाज होइन गुठीको विधेयक चाहि लोकतन्त्र, परम्परा र संस्कृतिको विरुद्धमा छ । मिडिया काउन्सील लगायतका पछिल्ला विधेयकहरु संविधानको भावना प्रतिकूलमा छन् र लोकतान्त्रिक मूल्य एवं जनभावना विरुद्धमा छन् ।’

‘गुठी विधेयक फिर्ता लिएको घोषणा गरिए पनि आम जनसमुदायको खबरदारी जारी रहनु पर्ने किन देखिन्छ भने सरकारले विधेयक भित्रको गल्ती स्वीकारेको भन्दा ‘नागरिकमा भ्रम सिर्जना गरिएको र वातावरण विथोल्ने प्रयास गरिएको’ आरोप लगाउँदै सो विधेयक फिर्ता लिइएको वक्तव्य जारी गरेको छ’, प्रवक्ता शर्माले भनेका छन् ।

‘गुठी, मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयकहरू सारमा अधिनायकवाद उन्मुख आकांक्षालाई पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएका छन्’, नेपाली कांग्रेसले भनेको छ, ‘कम्युनिष्ट दर्शनको शास्त्रीय हठबाट होइन नेपालको वर्तमान संविधानको लोकतान्त्रिक चेतबाट अगाडिको बाटो तय गर्न नेपाली कांग्रेस सरकारलाई सजग गराउन चाहन्छ ।’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस र गुठी विधेयकको विरोध गर्नेहरूविरुद्ध अभिव्यक्ति दिएको एक घण्टाभित्रै नेपाली कांग्रेसका प्रवक्ता शर्माले कडा जवाफ दिएका हुन् ।

Published : Tuesday, 2019 June 18, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया