संसदमा उत्पात गर्ने कम्युनिस्टहरूलाई कांग्रेसका पाण्डेले दिए गतिलै जवाफ

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै नेता पाण्डेलले सदनमा प्रमुख प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने चेतावनी छ । दुईतिहाइको घमण्डले चुर बनेको कम्युनिस्ट सरकारले कांग्रेसलाई पेलेरै लैजान खोजेपछि राष्ट्रिय सभामा त्यसको रियाक्शन देखिएको छ ।

‘प्रतिनिधिसभामा प्रधानमन्त्रीले मात्रै बोल्न पाउने अनि प्रतिपक्षी दलले बोल्न नपाउने ?’, कांग्रेस नेता पाण्डेले प्रश्न गर्दै भने, ‘प्रतिपक्षीलाई सदनभित्रपनि मुख थुन्ने प्रयास गरिँदैछ ।’

उनले भने, ‘प्रतिपक्षी दलको आवाजलाई दबाउने प्रयत्न गरिँदैछ । यो आवाज सदनमा दबाउनुभयो भने सडकमा पोखिन्छ भन्ने कुरा पनि याद गर्नुहोला । जति सदनमा दमन हुन्छ त्यति सडकमा यी कुराहरू छताछुल्ल हुन्छ ।’

राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता पाण्डेले संसदीय मूल्य मान्यताबारे कांग्रेसलाई सिकाउनु नपर्ने बताए । उनले भने, ‘हामीले आजसम्म माइक उचालेका छैनौं, कुर्सी भाँचेका छैनौं, अर्थमन्त्रीको ब्रिफकेश फोडेका छैनौं । संसदीय अभ्यास हाम्रो प्राण हो ।’

सरकारले संविधान विपरित ल्याएका विधेयकविरुद्ध जनता सडकमा ओर्लिएको र टोलटोलमा सरकारको विरोधमा प्रदर्शन भइरहेको भन्दै उनले संयमित भएर संविधान अध्ययन गर्न कम्युनिस्ट सरकारलाई सुझाव दिए ।

‘संयमित हुनुहोस् । बुझ्नुहोस् । जनताको आवाज हिजो पनि धेरैले थुन्ने कोशिस गरेका थिए’, कांग्रेस नेता पाण्डेले भने, ‘हिजो जो जो ले शासन लिए । जनताको अधिकार खोस्ने चेस्टा गरे तीनले पनि यो रोस्टममा सरकारको प्रतिनिधि भएर, सरकारको तर्फबाट बोल्दा खेरी त्यस्तै देख्थे । उरालिएको भिड देख्थे । कसैबाट सञ्चालित देखेका थिए ।’

‘के जनप्रतिनिधिहरुले टाउको फुटेका जनताको पक्षमा सदनमा अभिव्यक्ति दिन पाउँदैनन् ? यो सभाले उठाउन पाउने यो सभाले उठाउन नपाउने भन्ने कुरा हुन्छ ?’, उनले भने, ‘जब जनतालाई दमन गरिन्छ । त्यसपछि आवाजहरु सदनमा मात्रै होइन, सर्वत्र घन्किन्छन् ।’

भू–माफियालाई किसानको नाममा जमिन बाँड्न नसकिने भन्दै उनले भू–माफियाको चंगुलमा बनेको विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

जनताको आवाज सुन्ने हो भने सरकारले विधेयक फिर्ता लिन सक्ने भन्दै पाण्डेले समयमै जनताको चाहानाको सम्बोधन गर्न आग्रह गरेका थिए ।

सरकारले संविधान भन्दा बाहिर गएर सुरक्षा परिषद् सम्बन्धी विधेयक, मानवअधिकार सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र गुठी विधेयक ल्याएको उनको आरोप छ ।

‘संविधानको बर्खिलाप भएर आउने ऐन कानुन, जतिसुकै बहुमतको सरकार भएपनि बनाउन पाइँदैन’, उनले भने, ‘संविधानलाई मिच्ने गरेर कानून बनाउन पाइँदैन ।’

Published : Tuesday, 2019 June 18, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया