खोटाङमा कांग्रेसले देखायो कमाल, गाउँबाट उर्लिए कार्यकर्ता

दिक्तेल । नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत खोटाङमा नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध बृहत प्रदर्शन गरेको छ ।

खोटाङको सदरमुकाम दिक्तेलमा शुक्रबार कांग्रेसका कार्यकर्ताहरूले सरकारविरुद्ध नारावाजीसहित प्रदर्शन गरेका हुन् ।

कांग्रेस सुधारका लागि केन्द्रदेखि गाउँ तहसम्म गरिएको जागरण अभियानको अन्तिम दिन कांग्रेसका नेता तथा कार्यकर्ताहरूले र्‍याली निकालेर प्रदर्शन गरेको नेपाली कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठले जानकारी दिए ।

कांग्रेसका कार्यकर्ताहरूले दिक्तेल बजारको परिक्रमा गरेका थिए ।

मूल्यवृद्धि फिर्ता गर, प्रेसमाथिको हस्तक्षेप बन्द गर, निर्मला पन्तको बलात्कारीलाई कारबाही गर, हत्यारालाई जोगाउन पाइन्दैन, ओली सरकार कस्तो ? श्री ३ महाराज जस्तो लगायतका नारा लगाउँदै कांग्रेसका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।

विरोध सभालाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणासहितका नेताहरूले सम्बोधन गरेका थिए ।

युवा नेता राणाले कम्युनिस्टहरूको अधिनायकवादलाई कांग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।

‘अधिनायकवादलाई कांग्रेसले स्वकार गर्दैन’, उनले भने, ‘कांग्रेसले निर्वाचनमा पराजय भोगेकै कारण लोकतन्त्र र संविधान खतरामा परेको छ ।’

Published : Saturday, 2019 June 8, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया