दाेलखामा कार्यकर्तादेखेपछि रामचन्द्र र विश्वप्रकाश मख्ख, कम्युनिस्टहरूमाथि बाेले धावा (तस्वीर)

दोलखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने बताएका छन् ।

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत शुक्रबार दोलखाको सदमुकाम चरिकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनमा क्रान्ति आवश्यक रहेको बताए । देश कृषिमा निर्भर रहे पनि कम्युनिस्ट सरकारले कृषिमा महत्व नदिएको बताए ।

नेता पौडेलले जनताको हातमा अधिकार दिनुपर्नेमा कम्युनिस्ट सरकार भने अधिकार केन्द्रीकरण गर्न लागेको आरोप लगाए ।

देशमा जनताले आशा गर्न ठाउँ नरहेको उनको भनाइ थियो । ‘जनतालाई देखाएको सपना सरकारले पूरा गरेन’, उनले भने, ‘ओली सरकारले केवल भाषण र गफ गरेर सपना बितायो ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको घमण्ड नगर्न कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सुझाव दिए ।

‘कुनै बेला नेपाली कांग्रेसको पनि बहमुत थियो । हामी सुध्रिन नसक्दा जनताबाट धेरै गुमायौँ’, उनले भने, ‘ओलीजीले पनि दुई तिहाइको दम्भ त्यागेर जनताको हकहितमा ध्यान दिन नै बेस होला । होइन भने जनताले दण्ड दिने छन् ।’

उनले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई सुझाव दिए । ‘नेत्रविक्रम चन्द समूहलाई सरकारले वार्तामा ल्याएर हिंसा त्याग गर्नुपर्ने वातावरण बनाउनुपर्छ’, प्रवक्ता शर्माले भने । उनले विप्लव नेतृत्वको नेकपालाई हिंसा त्याग गर्न आग्रह गरे ।

 

Published : Friday, 2019 June 7, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया