ललितपुरमा चम्कियो देउवाको अनुहार, कार्यकर्ताहरू पनि खुसी

ललितपुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत ललितपुरका लगनखेलमा शुक्रबार आयोजित कार्यक्रममा सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता गर्न चेतावनी दिए ।

उनले मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन नेपाली कांग्रेस बाध्य हुने बताए ।

देउवाले कम्युनिस्ट सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर आफ्ना पार्टीका सांसदहरूलाई दिने काम गरिरहेको आरोप लगाए । उनले त्यस्ता गतिविधि रोक्न नेपाली कांग्रेसले खबरदारी गर्ने बताए ।

कांग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छन् ।

कांग्रेस ललितपुरले शुक्रबार आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको शुक्रबार समापन गर्दै सभापति देउवाले कांग्रेसका कार्यकर्तामा उर्जा थपिएको बताए ।

‘कांग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिनेछ’, सभापति देउवाले भने, ‘देशभर नै अरु पार्टीबाट कांग्रेस प्रवेश गर्नेको संख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली कांग्रेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएको बताए । कम्यनिस्ट सरकारबाट काम हुन नसकेपछि जनताले गुनासो गरिरहेको उनले बताए ।

नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्य, तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत लगायतले कांग्रेसलाई राष्ट्रिय जागरण अभियानले ठूलो शिक्षा दिएको बताए ।

ललितपुरका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्लास्तरीय नेता रामकृष्ण हुमागाइँसहित थुप्रे नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा भित्र्याएका देउवाले कार्यक्रममा प्रसन्नता देखाएका थिए ।

ललितपुरको मंगलबजारबाट शुरू भएको नेपाली कांग्रेसको र्‍याली कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गर्दै लगनखेलमा पुगेर सभामा परिणत भएको युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार र्‍यालीमा हज्जारौँको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 June 7, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया