अर्को निर्वाचनमा कम्युनिस्टहरूको घमण्ड कांग्रेसले तोड्छः डिना उपाध्याय

मलंगवा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले अर्को निर्वाचनमा कांग्रेस ठूलो पार्टी बन्ने दाबी गरेकी छिन् ।

सर्लाही जिल्लाको हरिपुरमा नेपाल महिला संघले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले कम्युनिस्टहरूको घमण्डले जनता आजित बनेको बताइन् ।

‘कांग्रेसले प्राविधिक रुपमा हारे पनि कार्यकर्ताहरूको मनबाट हारेको छैन’, उनले भनिन्, ‘राष्ट्रिय जागरण अभियानका क्रममा कांग्रेसका कार्यकर्ताहरूमा देखिएको उर्जाले अर्को निर्वाचनमा हाम्रो जित कसैले रोक्न सक्दैन ।’

नेपाली कांग्रेसकी अर्की केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी मुख्य सचेतक सरिता प्रसाइँले दुई तिहाइको उन्मादले कम्युनिस्टहरूले कुनै पनि काम राम्रोसँग नगरेको बताइन् ।

‘बजेट पनि झाराटार्ने खालको ल्याएका छन् । वृद्धभत्ताका बारेमा खड्गप्रसाद ओलीले निर्वाचनमा बोलेअनुसार बढाइएको छैन’, उनले भनिन्, ‘कम्युनिस्टहरू भनेका झटको खेती गर्नेहरू हुन् ।’

नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले कांग्रेसका केन्द्रीय शीर्ष नेताहरू मिल्ने हो भने पार्टीका उम्मेदवारहरूलाई कसैले पनि हराउन नसक्ने बताए । उनहरूले पार्टीभित्रको विवाद अन्त्य गरेर अगाडि बढ्न दवाव दिएका छन् ।

ईश्वरपुर नगरपालिका र हरिपुर नगरपालिकाको महिला संघको कार्यसमितिहरूले कार्यक्रमहरू राखेका हुन् । उल्लेख्य महिलाहरूको सहभागिता रहेको कार्यक्रममा महिलाहरूलाई पनि संविधानले दिएको अधिकारअनुसार हरेक ठाउँमा स्थान दिनुपर्ने माग उठेको थियो ।

Published : Friday, 2019 June 7, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया