ओलीका ‘खम्बा’ कांग्रेसमा प्रवेश गरेपछि नेकपाभित्र सन्नाटा, राष्ट्रिय राजनीतिमा तरंग

लगनखेल । नेपाली कांग्रेस ललितपुरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेतालाई पार्टीमा भित्र्याएको छ ।

ललितपुर जिल्लाको लगनखेलमा राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार कांग्रेसले आयोजना गरेको सभामा नेकपाका नेता रामकृष्ण हुमागाइँ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । हुमागाइँले कम्युनिस्ट पार्टीसँगको ३६–३७ वर्ष लामो इतिहाँस तोडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

हुमागाइँलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । हुमागाइँसहित ललितपुर नेकपाका थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीका खास नेता हुमागाइँले पार्टी छाडेर कांग्रेस प्रवेश गरेसँग ललितपुरका कम्युनिस्टहरू चिन्तित बनेका छन् ।

‘हिजो कम्युनिस्टहरू लाल थिए, लालसलाम भन्दै कम्युनिस्ट भइयो । आज ती लालहरू दलाल भए । त्यसले कांग्रेसमा प्रवेश गरियो’, नेपाली कांग्रेसमा प्रवेश गरेपछि सभालाई सम्बोधन गर्दै उनले भने, ‘गइएन त्यस्तो ठाउँमा देश लुटेर आफ्नो भुँडी भर्ने । गरिएन त्यस्तो कुकर्म देश लुटेर आफ्नो भुँडी भर्ने । उदेश्य एउटै छ मेरो नेपाल र नेपालीको जय–जय गर्ने । जय नेपाल ।’

उनले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ भनेर लागेका कांग्रेसका कार्यकर्ताहरूसँग आफू काँध मिलाएर हिँड्ने बताएका छन् ।

अहिलेको दुई तिहाइको कम्युनिस्ट सरकार ‘नाकाबन्दी’को ब्याजले जितेको हुमागाइँको भनाइ थियो । ‘म भन्छु ‘समृद्ध शासक सुःखी आसेपासे’ भएको छ यो सरकार’, उनले भने, ‘मैले ३५–३६ वर्षसम्म काम गरेँ । संगठन निर्माण गरे । एमाले त्यस बेला ठीक थियो । नेकपा भएपछि सबै बिग्रियो ।’

ललितपुर जिल्लामा राजनीतिक अपराधीहरू रहेको हुमागाइँले आरोप लगाएका छन् । ‘यहाँ क्रिमिनल ग्याङ छ । पैसा तिर्ने दलाल र माफियाहरू छन् । टिकट किन्ने माफियाहरू छन् । म लोकतन्त्रवादी हुँ’, उनले भने, ‘एमाले त्यस बेलासम्म ठीक थियो । अहिले सबै गुम्यो ।’

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएपनि सामाजिक न्यायमा सच्चिनुपर्ने उनले बताएका छन् ।

हुमागाइँले अहिलेका कम्युनिस्टहरू तानाशाही भएको बताए । ‘अहिलेका कम्युनिस्टहरू कम्युनिस्ट होइन’, उनले भने, ‘माथि गलत रिपोर्टिङ गर्छन् । सच्चा कमयुनिस्टले सहि कुरा र काम गर्छ । अहिले त सबै तानाशाही बनेका छन् ।’

ललितपुर जिल्लामा तत्कालीन एमालेको संगठन बनाउन आफूले ठूलो भूमिका खेलेको हुमागाइँले बताए । ‘मैले पार्टीमा गरेको योगदानको कदर भएन । मूल्यांकन गरिएन । टिकट दिइएन’, उनले भने, ‘नवराज सिलवालको गाडीमा एक महिनासम्म चढेर जिताउन हिँडेको छु । नवराज सिलवाललाई जिताउन मेरो विशेष भूमिका छ ।’

दुई तिहाइको कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गाकुल बास्कोटा आफ्नै साथी रहेको हुमागाइँले बताए । ‘दुई तिहाइको घमण्डले कम्युनिस्टहरू चुर भएका छन् ।

भारतमा जस्तै कम्युनिस्टहरूको पत्ता सफाल भए जस्तै नेपालमा पनि त्यो अवस्था नआउला भन्न सकिँदैन’, उनले भने, ‘अर्को पटक जित्न सकिदैन । अहिले नै कमाउ भनेर कम्युनिस्ट नेताहरू कमाउको धन्दामा लागेका छन् । नेकपा उदण्डहरूको झुण्ड बनेको छ ।’

नेपाली कांग्रेसमा प्रवेश गरेका हुमागाइँ ललितपुरको बुखेल गाविसको दुई पटक अध्यक्ष भएका थिए । नेकपा (एमाले) ललितपुरको अध्यक्षमा दुई मतले मात्रै पराजित भएका हुमागाइँ जिल्लामा लोकप्रिय नेता हुन् ।

ठैबो ०३६ सालमा लीलामणि पोखरेल अखिलको अध्यक्ष हुँदादेखि आफूले कम्युनिस्ट पार्टीको राजनीति गरेका हुमागाइँले ०४६ सालमा पाटन क्याम्पसमा अध्ययन र राजनीति गरेको बताए । ०५० सालदेखि ०७६ सालसम्म आफूले ललितपुर जिल्ला एमालेको कार्यसमितिमा रहेर काम गरेको उनले बताए ।

Published : Friday, 2019 June 7, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया