दुई जिल्ला कांग्रेसले रोक्यो जागरण अभियान, उद्धारमा खटिन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा हावा र हुरीबाट घाइते भएकाहरूको उद्धार र भौतिक संरचनाहरू निर्माणमा सहायेग गर्न आफ् नेता तथा कार्यकर्ताहरूलाई अपील गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरेर प्रभावित व्यक्तिहरूको उद्धारमा लाग्न निर्देशन दिएको हो ।

‘बिहीबार साँझ आएको हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अंगभंग तथा भौतिक संरचनाको क्षति र जनजीवन प्रभावित भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्राकृतिक विपदका कारण अकालमै निधन हुनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवार तथा आफन्तजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विपदमा परी घाइते हुनु भएकाहरूलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरूका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ ।’

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को प्रथम चरणको कार्यक्रम अन्तर्गत जेठ २५ गते सबै जिल्लाहरुमा र्‍याली सहित आमसभा गरेर समापन गर्ने केन्द्रको परिपत्र रहेता पनि कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्व निर्धाति सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न कांग्रेसले निर्देशन दिएको छ ।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरूलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न यसै नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

बिहीबार आएको हावाहुरीबाट कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा धेरै व्यक्तिहरू घाइते भएका छन् । लाखौँको क्षति भएको छ ।

Published : Friday, 2019 June 7, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया