देउवा–पौडेलले भुलेको कुरा डा.कोइरालाले अपील गर्दा कार्यकर्ताहरूद्वारा स्वागत

काभ्रे । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विभिन्न समयमा कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुनः कांग्रेसमै फर्कन अपील गरेका छन् ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत काभ्रेको धुलिखेलमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले कम्युनिष्टहरूले देश कब्जा गर्न लागिसकेको कांग्रेसका भड्किएर विभिन्न दलमा पुगेका साथीहरू आफ्नै घरमा फर्किनुपर्ने बताए ।

‘बिगतमा हामीबाट गल्ती र कमजोरी भयो’, उनले भने, ‘तपाईहरूको सही मूल्यांकन हुन सकेन । अहिले कांग्रेस र लोकतन्त्रमाथि चारैतिरबाट प्रहार भैरहेको छ ।’ कांग्रेस नेता डा.कोइरालाले प्रजातन्त्रका लागि लड्नुभएका सबै साथीहरूले तिता कुराहरू बिर्सेर कांग्रेसमा फर्कनोस् ।’

पार्टीभित्र अब मूल्यांकनको परिपाटी बस्ने बताउँदै डा.कोइरालाले आउदो निर्वाचनदेखि पार्टीभित्र कसैलाई आफूले अन्याय हुन नदिने प्रतिबद्धता जनाए ।

कांग्रेस नेता डा.कोइरालाले पार्टी छाडेर गएकाहरूलाई कांग्रेसमा फर्कन अपील गर्दा कार्यक्रममा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए ।

नेपाली कांग्रेसका नेता डा.कोइरालाले नेताहरूका नाममा जिल्ला–जिल्लामा गुट नचलाउन कार्यकर्ताहरूलाई आग्रह गरे ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, क्षेत्रीय सभापतिहरू कञ्चनचन्द्र बादे, तीर्थ लामा, महेश खरेल र रमेश हुमागाइँ, पूर्वसांसद कमला थापा, प्रदेश सभा उम्मेदवार गणेश लामा र सुन्दरमणि आचार्यले सरकारको रबैयाबिरुद्ध एकजुट हुन आग्रह गरे ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।

कांग्रेस छाडेर गएका नेता तथा कार्यकर्ताहरू पार्टीमा फर्कन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेलले फर्कन अपील नगरिरहेका बेला डा.काेइरालाले पार्टीमा फर्कन अपील गरेपछि कार्यकर्ता खुसी भएका हुन् ।

Published : Thursday, 2019 June 6, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया