नेकपा धादिङका सांसदको काण्ड बाहिरियो

धादिङ । धादिङ जिल्ला क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश ३ सांसद जगतबहादुर सिंखडाले आफ्नी छोरीलाई भाई धनबहादुर सिंखडाको छोरी बनाइ नागरिकता दिलाएको रहस्य बाहिर आएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सांसद रहेका सिंखडाले जनयुद्धमा लागेको बेला छोरीको सुरक्षालाई ध्यान दिएर भाईलाई पाल्न दिएको बताएका छन् ।

माओवादीमा हिँडेका कारण छोराछोरी असुरक्षित हुने भएकाले पाल्न भाईलाई दिएको उनको भनाइ छ ।

सिंखडा ०५४ सालदेखि माओवादीमा लागेका हुन । सिंखडाका चारजना छोराछोरी छन् । सबैलाई भाई धनबहादुर सिंखडाले आफ्नो सन्तान बनाएका छन् ।

सिंखडाका भाई धनबहादुर सिंखडाले दाईको छोरी पालेको देखिएपनि कानूनी रुपमा त्यो अंवैधानिक रहेको जनाइएको छ ।

नेपालको संविधान २०७२ अनुसार कसैको छोराछोरी राख्न, धर्मपुत्र पाल्न आफ्नो सन्तान नभएको हुनुपर्ने हुन्छ । सिंखडाका भाई धनबहादुरका दुई वटा सन्तान छन् ।

यस्तो अवस्थामा गैरकानूनी रुपमा दाईको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाउन मिल्दैन ।

धनबहादुरलाई बाबु बनाई ०६९ असार १० गते जिल्ला प्रशासन कार्यालयबाट रोशनी सिंखडाले नागरिकता लिएको रेकर्डमा उल्लेख छ ।

त्यो बेला नेपालमा शान्ति प्रक्रिया मात्रै होइन संविधान सभाको निर्वाचन समेत भइसकेको थियो । यस्तो अवस्थामा प्रदेश सांसद सिंखडाले आफ्नी छोरीलाई भाईको नामबाट किन नागरिकता बनाइदिए भनेर धेरैले प्रश्न उठाएका छन् ।

दाईको छोरीलाई आफ्नै छोरी बनाई नागरिकता बनाइदिएको बारे प्रदेश सांसद सिंखडा र धनबहादुर सिंखडाका विषयमा गृह मन्त्रालयले पनि छानविन गरिरहेको स्रोतले जनाएको छ ।

सत्तारुढ दलकै नेता भएका कारण उक्त प्रकरण प्रभावित हुने खतरा बढेको एक कर्मचारीले बताए ।

नागरिकता लिनको लागि शैक्षिक प्रमाणपत्र पेश गरे पुग्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले सोही प्रमाणपत्रका आधारमा नागरिकता दिएको छ ।

रोशनी सिंखडाको कक्षा १२ को शैक्षिक प्रमाणपत्रमा वाबुको नाम धनबहादुर सिंखडा रहेको पोखराको अमरज्योति उच्च माध्यामिक विद्यालयले पुष्टि गरेको छ ।

प्रदेश सांसद सिंखडा नागरिकता कीर्ते काण्डमा परेपछि कारबाहीबाट जोगिन शक्ति केन्द्र धाउन थालेका छन् । (दैनिकीन्युजबाट साभार)

Published : Thursday, 2019 June 6, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया