कांग्रेसका राम्रा कामले कम्युनिस्टहरूलाई भतभती पोल्छः रामहरि खतिवडा

खाँदबारी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले फेरि पनि वृद्धवृद्धालाई ढाँटेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले बिहीबार आयोजना गरेको ‘वर्तमान राजनीति र नेपाली कांग्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले निर्वाचनमा जनता समक्ष गरेको हरेक बचनहरू फेरि पनि कम्युनिस्ट सरकारले भुलेको बताए ।

‘हामीले जित्ने बितिकै घर–घरमा ५–५ हजार दिन्छौं भनेको दुई तिहाईको कम्युनिस्ट सरकार गठन गरेपछि वृद्धवृद्धालाई बेवास्ता गरेका छन्’, उनले भने, ‘अहिले बढाएको १ हजारपनि नेपाली कांग्रेसको दवावमा बढाइएको हो । दिने भए त कम्युनिस्ट सरकारले पहिलानै दिन्थ्यो । कांग्रेसको दवाव थाम्न नसकेर वृद्ध भत्ता बढाइएको छ ।’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भनेको रेल र पानीजहाजले बजेटमा हावा खाएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले बताए । ‘बजेटमा रेल र पानीजहाजको कुरा राखिएपनि जनता झुक्काउन कर्मकाण्डी रुपमा राखिएको छ’, उनले भने, ‘ हाम्रो देशको प्रधानमन्त्रीले कहिले पानीजहाज, कहिले रेल, तेलको ठूला–ठूला सपनाहरू मात्र बाँड्ने गर्नु हुन्छ । काम गर्नु हुन्न ।’ कम्युनिस्टहरू बोल्ने मात्रै हुन् भन्ने कुरा जनताले बुझेको उनले बताए । उनले भने, ‘कम्युनिस्टहरूले बोल्ने मौत्र हो । काम गर्दैनन् । काम गर्ने भनेको नेपाली कांग्रेसले हो ।’

नेपाली कांग्रेसको पालामा भएको धेरै राम्रा कामहरूलाई वर्तमान कम्युनिस्ट सरकारले काटेको खतिवडाले आरोप लगाए । ‘कांग्रेसले गरेका राम्रा कामबाट कम्युनिस्टहरूलाई जलन हुन्छ । औडाह हुन्छ’, नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘खुद्रे काम गरेर कम्युनिस्टहरूले देशलाई बर्बाद बनाउँदै छन् ।’

उनले नेपाली कांग्रेसले गणितीया रुपमा निर्वाचनमा हारे पनि जनताको मनबाट नहारेको बताए । ‘नेपाली कांग्रेसले संख्याका आधारमा हार्‍यो होला । हामीले सैद्धान्तिक रुपमा जितेको छौँ’, खतिवडाले भने, ‘सैद्धान्तिक रुपमा जितेकाले गणतीया हिसावमा हामी छिटै अगाडि आउँछौँ ।’

उनले देशमा भएका सबै परिवर्तनहरू नेपाली कांग्रेसले गरेको बताए । ‘नेपाली कांग्रेसले राजा र राणाको अन्त्य गर्‍यो । हिजो ५४ दिनसम्म सदन घेरेर सदन चल्न नदिने एमाले र १२ वर्षसम्म हिंसात्मक आन्दोलन गरेको माओवादीलाई हामीले लोकतन्त्रिक पद्धतिमा ल्याएर चुनावी प्रकियामा सामेल गराई आज देशको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र मुख्यामन्त्रीहरू बनायौँ, खतिवडाले भने, ‘यो नै हाम्रो जित हो । कांग्रेसको जित हो ।’ नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेर निर्वाचन भएकै कारण सत्तामा जाने अवसर कम्युनिस्टहरूले पाएको उनले बताए ।

कम्युनिस्टहरूले देशमा गणतन्त्र ल्याएको भनेर दावी नगर्न खतिवडाले चेतावनी दिएका छन् । ‘देशको प्रधानसेनापति हताटन नसक्ने । बयालगाडा चढेर अमेरिका पुगिदैन भन्नेहरूले देशमा गणतन्त्र ल्यएको हुँ भनेर अहिले ठूलो कुरा गर्दै छन्’, उनले भने, ‘यो भ्रममा कोही नेपाली पर्नु हुँदैन । नेपाली कांग्रेसले ‘राजतन्त्र’ शब्द आफ्नो विधानबाट हटाउनेवित्तिकै गणतन्त्र आएको हो’, उनले भने, ‘राजातन्त्र हटाएको भनेर कम्युनिस्टहरूले दाबी नगरेपनि हुन्छ ।’

खतिवडाले पार्टीमा गुट र उपगुटको राजनीतिभन्दा माथि उठ्नु पर्ने बताएका छन् । ‘पारीकर्मी होइन परिश्रमीलाई पार्टीमा ठाउँ दिनुपर्छ’, उनले भने, ‘गाउँ, टोल, वडामा कांग्रेसलाई मजबुद बनाउन हामी सबै लाग्नु पर्छ ।’

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले वर्तमान कम्युनिस्ट सरकार बलात्कारी, हत्यारा र भ्रटाचारीलाई जोगाइरहेको आरोप लगाए । ‘यो सरकार गठन भएदेखि नै असंवैधानिक कामहरू गर्दै आएको छ’, उनले भने, ‘खड्गप्रसाद ओली प्रधानमन्त्री हुने बेलादेखि नै संविधान मिच्ने काम भएको छ’, चापागाइँले भने, ‘अहिले पनि कम्युनिस्ट सरकारले संविधान उल्लंघन गरेर आफ्ना गतिविधिहरू गरिरहेको छ ।’

ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाली कांग्रेसका नेताहरूका नाममा रहेका प्रतिष्ठान र कार्यक्रमहरूलाई राजनीतिक प्रतिशोधका आधारमा रकम कटौती गर्ने गरेको उनले आरोप लगाए । ‘हाम्रो नेताहरूको नाम मेटाउन यो कम्युनिस्ट सरकार लागि परेको छ’, उनले भने, ‘यस्ता हर्कतहरूको नेपाल तरुण दलले हिसाव किताव राखेको छ ।’ उनले कम्युनिस्ट सरकारको गतल कुराको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

Published : Thursday, 2019 June 6, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया