नायिकालाई यौन सम्पर्क गर्न नपाएपछि हत्या गर्नेलाई कैद

पोखरा । मगर भाषाको फिल्मकी नायिका नेहा पुन (योरुना) हत्याका आरोपी सतिश भनिने कीर्तन खड्गीलाई कास्की जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश रमानाथ पौड्यालको इजलासले आइतबार कीर्तनविरुद्ध कर्तब्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ वर्ष कैदको फैसला गरेको हो । कीर्तनविरुद्ध २०७२ फागुन १५ गते हत्या आरोपमा मुद्दा दायर भएको थियो । खड्गी पुर्पक्षका लागि थुनामा थिए ।

कास्कीको नयाँगाउँ घर भई पोखराको न्यूरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षीय नेहा पुनको शब २०७२ माघ १९ गते बिहान आफ्नै घरनजिकै भेटिएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा माघ १८ गते राति कीर्तनले नेहालाई घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा राखेर लगेका थिए ।

घर नपुग्दै लेकसाइड जाउँ भन्दै यौन प्रस्ताव राखेको र नेहाले अस्वीकार गरेपछि हेलमेटले टाउकोमा हिर्काएको कीर्तनले अनुसन्धानका क्रममा स्वीकारेका थिए ।

हेलमेटले लागेर नेहा ढलेकी थिइन् । त्यसपछि यौन सम्पर्क गर्न खोज्दा रगत देखेपछि घटनास्थलबाट भागेको कीर्तनले बयानमा उल्लेख गरेका छन् ।

जिल्ला अदालतले गरेको फैसला अनुसार कीर्तनले अब २५ वर्ष जेल सजाय भोग्नु पर्नेछ ।

Published : Monday, 2018 April 30, 6:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया