बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति कांग्रेस नेता भण्डारी मर्माहत
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति चिन्ता जनाउँदै तत्काल उद्धार, राहत र दीर्घकालीन सोंचको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गरेर नेता भण्डारीले बाढीपहिरोको घटनाले ठूलो जनधनको क्षति भएको भन्दै गहिरो दुःख व्यक्त गरेका हुन् । उनले नारायणगढ–मुग्लिन सडक खण्डमा दुईवटा बस त्रिशूलीमा खसेर दर्जनौ यात्रु बेपत्ता भएको खबरबाट मर्माहत भएको जनाएका छन् ।
कास्की लगायत देशका विभिन्न स्थानमा भएका बाढीपहिरोको घटनाको जानकारी निरन्तर बाहिर आउँदै गर्दा आफूलाई निकै मर्माहत बनाएको बताएका छन् ।
उनले भने, ‘संसदीय शासन प्रणालीमा सरकार आउने र जाने विषय सामान्य हो । देश कहिल्यै सरकार बिहीन हुँदैन, जो सरकारका छ उसले अन्तिम क्षणसम्म देश र जनताको हित गर्ने हो ।’
‘जनताले सरकारबाट संरक्षणको अनुभूति गर्न पाउनु पर्दछ । दुःखको समयमा सरकारको सहयोग नागरिकको अधिकार हो’, उनले भने ।
‘सरकारले अत्यन्त सजगता, सक्रियता र जिम्मेवारी वोधका साथ समस्यामा परेका नागरिकको खोजी एवम् उद्धार र जोखिमयुक्त क्षेत्रका नागरिकको सुरक्षाको प्रबन्ध मिलाउने तथा आवश्यक स्थानमा पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउनु आवश्यक’, नेता भण्डारीले भने, ‘त्यसतर्फ सरकारको ध्यान केन्द्रित होस् भन्ने जोडदार माग गर्दछु ।’
‘देश अहिले निकै शोक तथा दर्दनाक अवस्थामा छ । विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारीमा हाम्रो प्रयास पर्याप्त हुन सकेन’, भण्डारीले भने ।
‘हामी सबै एकजुट भएर, राजनीतिक जोडघटाउ भन्दा माथी उठेर यसरी पटक पटक वर्षा याममा आउने बाढी, पहिरोको समस्या, यातायातको क्षेत्रमा देखिएको अस्तव्यस्तताले निम्त्याएको सडक दुर्घटनाको कहालीलाग्दो श्रृङ्खला तोड्नका लागि प्रतिबद्ध भएर लाग्न आहन गर्दछु’, सांसद भण्डारीले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया