अनुचित प्रभावमा नपरी, भेदभाव नगरी कर्तव्य पालन गर्न प्रहरीलाई प्रधानमन्त्री शाहद्वारा निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका छन् ।
सोमबार नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गरेका छन् । उनले दीक्षित भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको बताए ।
जिम्मेवारीप्रति जवाफदेहीता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागु हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भने, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’
दीक्षित भएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी संगठनको मर्यादा विपरित व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उनले आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले समयको बदलावसँगै अपराधका स्वरूप र प्रवृत्तिहरू पनि बद्लिएको सन्दर्भमा अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानको लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरूरी रहेको बताए । उनले नेपाल सरकार यसका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन तथा आफ्नो जिम्मेवारी पूरा गर्न सदैव प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोख्रेल, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राजकुमार जिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकासकुमार धामीलाई पुरस्कार प्रदान गरेका छन् । उनले कवाज तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई ‘कुलानन्द विद्या पुरस्कार’ समेत प्रदान गरेका छन् ।
समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दीक्षित हुन लागेका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गरेका छन् ।
दीक्षित भएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात् गर्दै सक्षम, व्यावसायिक, प्रविधिमैत्री, निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास कार्कीले व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई यो नेतृत्व क्षमता, निर्णय गर्ने सामथ्र्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दवाबबाट माथि उठेर कानूनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह गरेका छन् ।
विशेषगरी महिला बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडित केन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकता राखी कार्य गर्न समेत उनले आग्रह गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै नेपाल प्रहरीले यी बदलिदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताए ।
साइबर तथा डिजिटल अपराधदेखि अन्तरदेशीय अपराध र विपद् व्यवस्थापन लगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहेको बताए ।
सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम वुद्धिमत्ताको विवेकपूर्ण प्रयोग सँगै मानवअधिकार, कानूनी प्रकृया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्दै सेवा प्रवाह र कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, परिणाममुखी बनाउनु संगठनको प्राथमिकता रहेको आईजीपी कार्कीले बताएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया