चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्वहरूको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुका सम्बन्धमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुने सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए । उनले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताए ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा आईजीपी कार्कीले बताए ।

कार्कीले विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्ने उनले बताए ।

सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने निर्देशन आईजीपी कार्कीले दिएका छन् ।

Published : Saturday, 2026 October 10, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया