लामिछानेले आफ्ना साझेदार जीबी राईलाई पक्राउ गर्न नसक्ने, महरा र छोराहरू छाड्ने : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले बेचन झा पक्राउ परेकै कारण सरकार ढलेको भनेर जनतालाई नढाँट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले ठूला दलको स्वार्थ नमिलेकै कारण गठबन्धन फेरिएको बताए । सांसद शाहीले फाइल खोलेका कारण सरकार ढलेको भाष्य गलत भएको बताएका हुन् ।
उनले भने, ‘बहालवाला सांसद टोपबहादुर रायमाझी पक्राउ पर्दा सरकार नढल्ने तर, बेचन झा पक्राउ गरेकै कारण सरकार ढल्यो भनेर बेचनको ब्रान्डिङ नगर्नु, संसद्को रोष्ट्रमबाट झुट कुरा नबोल्न आग्रह गर्छु ।’
शाहीले गृहमन्त्री रवि लामिछानेले आफ्ना साझेदार जीबी राईलाई पक्राउ गर्न नसकेको बताए । तत्कालीन सभामुख महरा, उपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूले सुन तस्करी गरेको भिडियो सार्वजनिक हुँदा पनि कारबाही नभएको बताए ।
शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जातजातिका नाममा राजनीतिक रोटी नसेक्न चेतावनी दिएका छन् । शाहीले दाहाललाई जातजातिलाई भड्काएर आफ्नो राजनीतिक रोटी नसेक्न चेतावनी दिए ।
‘जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्, म तपाईंहरूलाई यो भन्न चाहन्छु’, शाहीले भने ।
‘किनभने अत्ति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुम पश्चिमको नवराज विकको हत्या के राजाको पालामा भएको हो ?’, उनले भने ।
सांसद शाहीले नवराज विकलगायतको हत्या हुँदा नेकपा माओवादी केन्द्र नै सरकारमा रहेको स्मरण गराउँदै उक्त घटना जातीयताका लागि मान्छे मारेको नेपालकै सबैभन्दा ठूलो रुपमा चित्रित गरेका छन् ।
‘यही गणतन्त्र, स्वयम् माओवादी सरकारमा थियो । त्यतिखेर भएको हो’, शाहीले भने, ‘अहिलेसम्मकै जातियताका लागि सबैभन्दा ठूलो मान्छे मारेको घटना भित्र पर्छ नेपालको ।’
शाहीले भने, ‘म अहिले पनि भन्छु, हाम्रो जात एउटामात्रै छ नेपाली, देश एउटामात्रै छ नेपाल । यहाँभन्दा अरु केही छैन ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया