एमालेसँगको गठबन्धन भत्किनुको दोष सभापति देउवालाई दिनु हुँदैन, सन्तुलन राख्नुपर्छ : मेटमणि चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न सुझाव दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा चौधरीले प्रधानमन्त्री दाहाललाई सभापति देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका हुन् । उनले ४ महिनापछि फेरि दाहालकै पक्षमा सत्ता आउने दाबी गरेका छन् । प्रमुख सचेतक चौधरीले अहिलेको कांग्रेस–एमाले गठबन्धन ४ महिनामा परिवर्तन हुने बताएका छन् ।
एमालेका अध्यक्ष केपी ओलीप्रति अविश्वास गर्दै सांसद चौधरीले सभापति देउवालाई संसद् विघटनको साक्षी नबस्न आग्रह गरेका छन् ।
वर्तमान सत्तारुढ गठबन्धन भत्किनुको दोष कांग्रेस सभापति देउवा नदिन चौधरीले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति दाहालको अनुकूल हुने उनको भनाइ थियो ।
‘आज परिस्थिति जस्तो भए पनि कांग्रेसका सभापतिलाई दोषी तपाईं कत्ति पनि नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकूल भई त हाल्छ, १०० प्रतिशत । आजको मितिले चार महिना गनेरै बसौं । चार महिनामा अनुकूल परिस्थिति तपाईंकै पक्षमा हुन्छ,’ चौधरीले भने, ’त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ ।’
सांसद चौधरीले प्रधानमन्त्री दाहाललाई आफूहरू सधैँ साथमा रहे पनि आफूहरूलाई भने बेलाबेलामा दाहालले छोड्ने गरेको बताएका छन् ।
चौधरीले कांग्रेस सभापति देउवालाई समयमै सचेत भएर बस्न सुझाएका छन् । चौधरीले संविधानमाथि र संसदमाथि प्रहार हुने अवस्था आएमा साक्षी नबस्न पनि आग्रह गरेका छन् ।
‘कांग्रेस सभापतिलाई आग्रह गर्न चाहन्छु, नेपालको लोकतान्त्रिक व्यवस्थालाई कमजोर हुने गरी, संसद् विघटन हुने गरी साक्षी नबस्नुहोला’, चौधरीले भने, ‘यो १०० प्रतिशत त्यो ठाउँमा पुग्छ ।’
सांसद चौधरीले भने, ‘४ महिनाछि बहालवाला प्रधानमन्त्रीको जस्तो हालत नहोस् । यो ‘छल ग¥यो मायाले…’ भन्ने गीत छ, त्यो गुनगुनाउन नपरोस्, बुढानीलकण्ठको निवासमा बसेर ।’
कांग्रेस र एमालेको सरकार धेरै नटिक्ने पनि सांसद चौधरीले बताएका छन् । चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्नसमेत गरेका छन् ।
आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम गठन हुने पनि उनले बताए । कांग्रेस र एमालेलाई असंवैधानिक काम नगर्न चौधरीले सचेत गराएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया