पत्रकारले आफ्नो सीमामा बसेर लेख्नुपर्छ : अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भएपनि पत्रकारले समेत सीमामा बसेर लेख्नुपर्ने बताए ।
स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उनले बताए । उनले भने, ‘आफ्नो ठाउँबाट एक कदम बढेर पनि काउन्सिलले काम गरिरहेको छ ।’
काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतले बताएका छन् ।
जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहोरिने सुनिश्चितता हुने उनले बताए ।
मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठेरो अवस्था सिर्जना गर्न नहुने उनले बताए ।
अब न्यूज रूमले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उनले बताएका छन् ।
‘मिडियामा नआउनुपर्ने समाचार बढी आएको पाइएकाले सम्पादकीय प्रक्रिया पूरा गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्दछ’, उनले भने ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भीडभाडका समयमा प्रहरीले तोकेको निषेधित क्षेत्रभित्र जाँदा पनि कतिपय यस्ता घटना हुने गरेको बताएका छन् ।
नेपाली सेनाका महासेनानी खेमराज शर्माले प्रेस स्वतन्त्रताको विषयमा सरोकारवाला मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले एउटै दृश्यमा हेर्ने दृष्टिकोण फरकफरक हुने भएपनि संवेदनशील विषयमा सबैको आँखा एउटै हुन जरुरी रहेको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया