सेनाका तालिमरत अधिकृतबाट प्रहरी प्रधान कार्यालयको अवलोकन

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

आइतबार अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत गरेका छन् । उनले भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका छन् ।

सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहलय समेतको अवलोकन गरेका छन् ।

अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठनबीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र नेपाली सेनाका सहायक रथी दीपेशजंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गरेका छन् ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरीबीचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरेका छन् ।

एसएसपी कार्कीले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण समेत गरेका छन् ।

महासेनानी सूर्यबहादुर थापाले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवादसहितको मन्तव्य व्यक्त गरेका छन् ।

तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरूषको साथै ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिताको रहेको थियो ।

Published : Monday, 2024 April 22, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया