गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ ।
बुधबार नयाँदिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरले गुरुङसँग भेटेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । उनले भेट्दा खुसी लागेको पनि लेखेका छन् ।
‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो’ भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन् ।
गृहमन्त्री गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रिस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतमा छन् ।
बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी थिए ।
बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल भएको थियो ।
बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइएको बताइएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया