यती एयरले बंगलादेशबाट सेकेण्डह्याण्ड दुई ठूला जहाज ल्यायो

काठमाडौं । निजी क्षेत्रको यती एयरलाइन्सले दुई वटा ७२ सिट क्षमताका सेकेण्डह्याण्ड ठूला जहाजहरु थपेको छ ।

दुई वटा एटिआर ७२–५०० सिरिजको जहाज थप गरेको यती एयरले जनाएको छ । जहाजहरु बिहीबार साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई वटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको छ । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ ।

दुई जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । बंगलादेशको राजधानी ढाकाबाट नेपाल ल्याइएको छ ।

 एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२-५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ ।

यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिने यती एयरले दाबी गरेको छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२(५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिने जनाइएको छ ।

अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुने यती एयरले जनाएको छ ।

Published : Friday, 2024 February 2, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया