नक्सालमा प्रहरी दिवसको विशेष समारोह, गृहमन्त्रीद्वारा डीआईजी खत्रीसहित सिपाहीसम्मलाई पुरस्कार प्रदान
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिकको हरेक गुनासो, पीर मर्का, जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा वहन गर्नुपर्ने बताएका छन् ।
बोलीचाली, आचरण र कार्यशैलीलाई नागरिकमैत्री बनाउँदै भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपात विरूद्ध कुनै सम्झौता नगरी अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति कायम गरी कार्यसम्पादन गर्नुपर्ने समेत उनले बताए ।
शुक्रबार ७१औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । गुरूङले नेपाल प्रहरी संगठनमा आफ्नो जीवनका अमूल्य समय समर्पण गर्दै कर्तव्यनिष्ठा, कार्यदक्षता, व्यावसायिकता र उच्च अनुशासनका साथ अतुलनीय योगदान पुर्याउनुका साथै सेवाबाट निवृत्त पश्चात पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धिमा निरन्तर योगदान पुर्याएका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा.प्रेमलाल श्रेष्ठलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका छन् ।
गृहमन्त्री गुरुङले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी व्याटन २०८३’ प्रदान गरेका छन् ।
गृहमन्त्री गुरूङले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’, ईलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायव निरीक्षक निबन्धबहादुर बुढालाई ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार’ तथा प्रहरी चौकी कोठियाघाट बर्दियाका प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी चौकी जोलजीवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरेका छन् ।
गृहमन्त्री गुरूङले कैलाली धनगढी उपमहानगरपालिका–१० का अमर प्रहरी स्वर्गीय प्रहरी जवान पदमबहादुर साउदको छोरा विप्लब साउद र अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार रामबहादुर साउदकी छोरी रञ्जना साउदलाई ‘अच्युत–मीना अमर प्रहरी पुरस्कार’ तथा बैतडी शिवनाथ गाउँपालिका–२ का अमर प्रहरी जवान शेरसिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका–५ का अमर प्रहरी जवान रामबहादुर साउदकी छोरी नविना साउदलाई ‘अच्युत–मीना छात्रवृत्ति’ प्रदान गरेका छन् ।
गृहमन्त्री गुरुङले नुवाकोटको विदुर नगरपालिका–११ का अशक्त प्रहरी नायव निरीक्षक हितबहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका–६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजयकुमार साहलाई ‘मोती कला मिथिला अमर प्रहरी छात्रवृत्ति’ प्रदान गरेका छन् ।
गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका छन् । उनले नेपाल प्रहरीको कार्यसम्पादन, संस्थागत विकास, व्यावसायिकता तथा प्रहरी गतिविधिहरूलाई अभिलेखीकरण गर्दै प्रहरी संगठनको पहिचान, उपलब्धि र योगदानलाई उजागर गर्ने महत्वपूर्ण प्रकाशन “प्रहरी दर्पण २०८३” को लोकार्पण एवम् नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको पुस्तिका तथा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूको सम्झनामा तयार पारिएको “प्रहरी स्मारिका २०८३” को लोकार्पण समेत गरेका छन् ।
समारोहलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री गुरूङले विशिष्ट महानुभावहरू, अमर प्रहरीका परिवारजन तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रहरी दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
यो दिवस वि.सं. २०१२ सालमा प्रहरी ऐन जारी भएको स्मरण र संगठनको वार्षिक उत्सव मात्र नभई नेपाल प्रहरीले गरेको सेवा, त्याग र बलिदानको सम्मान भएको उल्लेख गर्दै कर्तव्यपालनाका क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
गृहमन्त्री गुरूङले देशमा शान्ति सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी सदैव अहोरात्र खटिँदै आएको चर्चा गर्दै गत भदौ १० गतेको रसुवा भोटेकोशी, मनाङ–मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीदेखि विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदा समेत विचलित नभई नागरिकको सेवामा खटिनु भएका प्रहरी कर्मचारीहरूको धैर्य र समर्पणको उच्च मूल्याङ्कन गरेका छन् ।
प्रहरीको बर्दी डर र त्रासको नभई आशा भरोसा र नागरिक प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने उनले बताए । गृहमन्त्री गुरूङले भने, ‘नयाँ पुस्ताले सोधेको छ राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देशमा, मेरो मातृभूमीमानै उज्जवल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान र विपद्का समयमा गरिने उद्दारले समेत निर्धारण गर्नेछ । मलाई विश्वास छ नेपाल प्रहरीका सम्पूर्ण सदस्यहरूले राष्ट्र र जनताको सेवामा समर्पित भई नतिजा मार्फत यो उत्तर दिनुहुन्छ ।’
शान्ति सुरक्षा कायम गर्ने क्रममा भिड नियन्त्रण र बल प्रयोग गर्दा आवश्यकता, अनुपातिकता र जवाफदेहिताको सिद्धान्तको कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गर्दै राज्यका संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम राख्न थप जिम्मेवार बन्नुपर्ने उनले बताएका छन् ।
गृहमन्त्री गुरूङले अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने सक्षम निकायको रूपमा नेपाल प्रहरी स्थापित हुन जरूरी रहेको बताउँदै भर्खरै नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रहरूको गृहमन्त्रीहरूको पहिलो बैठक एवम् भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सुचना अदानप्रदान प्रविधिको उपयोग जस्ता विषयमा सहकार्य बढाउन जोड दिएको बताए ।
क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक अघिको कानूनमा सुधार, आवास, स्वास्थ्य लगायतका सेवा सुविधामा सुधार, सरूवा बढुवालाई व्यवस्थित बनाउने, काम र नतिजाको आधारमा मूल्याङ्कन गर्ने प्रणालीको विकासमा नेपाल सरकारले काम गरिरहेको गृहमन्त्री गुरुङले बताएका छन् ।
समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले अमर प्रहरीका परिवारहरूलाई सद्भाव सहयोग प्रदान गरेकी छिन् ।
समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गर्नुका साथै नेपाल प्रहरीलाई आफ्नो सन्देशमार्फत मार्गदर्शन, अभिभावकत्व र हौसला प्रदान गरेकोमा प्रधानमन्त्री शाहप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
राष्ट्रको सेवा गर्दा गर्दै हालैको भोटेकोशी त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नु भएका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीहरूको शीघ्र स्वास्थ्य लाभको कामना उक्त शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया