सवारी दुर्घटनामा १ हजार १ सय ३७ जनाको मृत्यु, १६ हजार ३३५ घाइते

काठमाडौं । देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी चौबिसै घण्टा खटिएको छ ।

चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम प्रहरीले गरिरहेको छ । नेपाल प्रहरीको सक्रियताको कारण दुर्घटना संख्या घट्दै गएको र ट्राफिक नियम उल्लंघन गर्ने क्रम कम भएको छ । यसलाई अझै न्यूनीकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन सरोकारवाला सबै निकाय जिम्मेवार हुन आवश्यक छ ।

यस आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । तीमध्ये ८ सय ५४ जना पुरूष, २ सय ९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् । ती दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका थिए । घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए ।

सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिदै गइरहेको अवस्थाले गर्दा दुर्घटना निम्त्याउने गर्दछ । दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा चालिएका कदमबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने, ‘डिजिटल प्रविधि, सिसिटिभि, ट्राफिक लाईट, मापसे चेकिङ लगायतका अवयब थप गर्ने विषयमा हाम्रो चासो छ, जसले अझै राम्रो किसिमले दुर्घटना नियन्त्रण गर्न सकिन्छ । सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूर्णरूपमा ईमानदार भई काम गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ ।’

सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार ८६५ वटा, कोशी प्रदेशमा १ हजार ६३९ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, बागमती प्रदेशमा ७ सय ६ वटा, गण्डकी प्रदेशमा १ सय ९५ वटा, लुम्बिनी प्रदेशमा ६ सय ६ वटा, कर्णाली प्रदेशमा ४ सय ९५ वटा र सुदूरपश्चिम प्रदेशमा १ सय ६० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ८ सय ७४ वटा ट्रक÷ट्याङकर, २ सय १३ वटा टिपर, ३५ वटा डोजर/लोडर/स्काभेटर, १ हजार ४९६ वटा बस, २ सय ९४ वटा माइक्रोबस, ४ हजार ६२५ वटा जिप/कार, ३ सय २४ वटा ट्याक्टर, ७ सय ४१ वटा टेम्पो, ११ हजार ४० वटा मोटरसाइकल, ७ सय ९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४ सय १९ वटा सवारी साधनहरू संलग्न रहेका थिए ।

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनहरू क्षति भएका छन् । तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढि दुर्घटना काठमाडौं उपत्यका र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा भएका थिए । सबैभन्दा बढि मोटरसाइकल दुर्घटनामा परेका छन् । तीव्र गतिमा गुड्ने सवारी साधनहरू बढि दुर्घटनामा परेको देखिन्छ । तीव्र गति लगायत दुर्घटनाका विविध कारणहरू छन् ।

सो अवधिमा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काटदा यात्रुको कारण ७ सय ५६ वटा, मापसे ६ सय ९४ वटा, ट्राफिक नियम उल्लंघन ५ सय ७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४ सय ६० वटा, ओभरटेक ३ सय ५३ वटा लगायत ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता प्रमुख कारणले समेत सवारी दुर्घटना भएका छन् ।

जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नेबारे प्रहरी नायव महानिरीक्षक ढकालले भने, ‘नेपाल प्रहरीले ट्राफिक चेकिङलाई तीव्र बनाउने, सवारी नियम पालना गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही तथा जरिवाना गर्ने गरेको छ । दुर्घटनाबाट हुने जनधनको क्षतिबाट गम्भीर असर पर्छ । त्यसैले दुर्घटना न्यूनिकरणको लागि नेपाल प्रहरीले कडाईका साथ ट्राफिक व्यवस्थापनमा जोड दिँदै आएको छ ।’

सो अवधिमा बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५ सय ८१ वटा दुर्घटना भएको देखिन्छ । ८ वटा दुर्घटनाको समय खुल्न सकेको छैन् । दुर्घटना बढि हुने समयमा ट्राफिक चेकिङको संख्या थप गरिने गरिएको छ ।

Published : Thursday, 2024 February 1, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया