निष्ठा र सामूहिक भावनाका साथ अस्पतालको गुणस्तर अभिवृद्धि गर्न आईजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामूहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ सेवाग्राहीलाई भावनात्मक रूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

अस्पताललाई स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नबिनतम् प्रविधि र पद्धतिलाई अंगिकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरू सबैमा सकारात्मक सोँचका साथ काम गर्ने वातावरण बनाउन सदैव प्रयासरत रहेको डा.सिंहले बताएकी छिन् ।

Published : Thursday, 2024 January 25, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया