ओली र प्रचण्डको सम्बन्ध बिग्रियो, एमालेले माओवादीलाई नङ्ग्यायो

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले माओवादी सशस्त्र द्वन्द्वको सुरुवात भएको दिनलाई सरकारका तर्फबाटै उत्सव मनाइएको भन्दै बिरोध गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो हिंसा शुरु गरेको दिन कुनै राष्ट्रको उल्लास र हर्षको दिन हुन सक्दैन ।’

‘हामीले युद्ध विराम र शान्ति प्रक्रिया किन गर्नुपर्‍यो ? बृहत शान्ति सम्झौता किन गर्नुपर्‍यो ?’, प्रश्न गर्दै उनले भने, ‘त्यही ठीक छभने त त्यही बाटो लाग्दा हुन्थ्यो नि !’

अध्यक्ष ओलीले त्यो ठीक नभएर शान्तिको बाटो रोजेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आलोचना गर्दै ओलीले प्रश्न गरेका थिए । दाहाल निकै आक्रोशित अवस्थामा देखिएका थिए ।

ओलीले भने, ‘तपाईं हिंसा शुरु गरेको दिनलाई उत्सव मनाउने ? बिदा दिने ? हिंसा शुरु गरेको दिनमा भोज खाएर, नाचेर शहीदका परिवारहरूलाई पढाउने जिम्मा तपाईं नलिने ? उनीहरूका अगाडि तपाईं उत्सव मनाउने ?’

ओलीले घाइतेहरूको उपचार नगरेको तर सरकारी कर्मचारी र विद्यार्थीलाई दिइएको बिदा केका लागि हो ? भनेर दाहालसँग प्रश्न गरेका छन् ।

हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन आवश्यक नभएको ओलीले बताएका छन् । उनले आउने क्याबिनेट बैठकबाट त्यसलाई फिर्ता लिन आग्रहसमेत गरेका छन् । हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउने निर्णय फिर्ता नलिए एमालेले आन्दोलन गर्ने चेतावनी अध्यक्ष ओलीले दिएका छन् ।

ओलीको पछिल्लो अभिव्यक्तिले माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल निकै क्रुद्ध भएका छन् । ओली र दाहालबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको संकेत मंगलबार सदनमा ओलीको अभिव्यक्तिले दिएको छ ।

Published : Tuesday, 2023 October 3, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया