सुन तस्करी काण्डमा छोरा हिरासतभित्र, बुबा बाहिर, सीआईबी पुगेर बयान दिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले भेपमा लुकाएर सुन तस्करी गरेको काण्डमा मुछिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।

९ किलो सुन तस्करी काण्डमा महरासँग सीआईबीले सोमबार साँझ बयान लिएको हो । विमानस्थलमा बरामद भएको सो सुन छुटाउन कृष्णबहादुर महारा र उनका छोरा राहुल महराले पहल गरेको खुलेको थियो । सुनका तस्कर चिनियाँ नागरिकसँग महरा बाबुछोराले पटकपटक फोनमार्फत सम्पर्क गरेको सार्वजनिक भएको थियो ।

प्रहरीले महरालाई भने बयानसमेत नलिएको भन्दै सत्तारुढ गठबन्धनको नेपाली कांग्रेसलगायत विपक्षी पार्टीहरूले विरोध गरिरहेका थिए ।

२०७९ पुस १० गते दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।

महराको परिवारसँग निकट चिनियाँ तस्करीका नाइके दावाजिन वाङको योजनामा भित्र्याइएको सुन लुकाइएको भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो ।

सामान छुटाउन कृष्णबहादुर महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको थियो ।

भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भएको थियो ।

अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् । चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । सीआईबीले कृष्णबहादुर महरालाई भने पक्राउ नगरी बयान कागज मात्रै गराइएको छ ।

६१ केजी सुन तस्करी प्रकरणमा पनि दावाजिनको संलग्नता खुलेको थियो । ६१ केजी प्रकरण र त्यसको अनुसन्धानका आधारमा साढे ३ अर्ब रुपियाँ बिगो कायम गरेर दायर गरिएको मुद्दामा पनि दावा फरार छन् ।

६१ केजी प्रकरणमा माओवादीका केही शीर्ष नेतासँग निकट रहेका दावा छिरिङसहितका ९ विदेशीसहितलाई प्रतिवादी बनाएर यसअघि संगठित अपराधसहितका ७ वटा कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ ।

भेपको सुन छुटाउने क्रममा कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करसँग मात्रै २ सय ५६ पटक टेलिफोन सम्पर्क गरेको अनुसन्धानबाट खुलिसकेको छ ।

Published : Tuesday, 2023 October 3, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया