चार अर्ब ५७ करोडको सरकारी सम्पत्ति बेच्न मन्त्रीलाई प्रस्ताव, कमिशनमा माओवादीको र्याल चुहियो
काठमाडौं । माओवादी निकट मानिने पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सोल्टी होटल लिमिटेडको सेयर बिक्री गरेर जहाज किन्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई सुझाव दिएका छन् ।
निगमको स्वामित्वमा सोल्टी होटल लिमिटेडको १ करोड ३ लाख हजार ६९९ कित्ता सेयर छ । मिति २०८०/०५/१९ मा सोल्टी होटलको सेयरको बजार मूल्य प्रतिकित्ता ४४३ देखिएको छ । सेयरको अहिलेको बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपियाँ हुन्छ ।
क्षेत्रीको संयोजकत्वमा निगमको आन्तरिक स्रोतको बढीभन्दा बढी उपयोग गर्दै जहाज खरिद तथा सञ्चालन गर्नुपर्ने समितिले सुझाव दिएको छ ।
पूर्व गभर्नर क्षेत्री नेतृत्वको ५ सदस्यीय समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, टीकाराम राई र साहारा न्यौपाने सदस्य रहेका थिए । टीकाराम राई मन्त्री किराँतीका लागि सबै कुराको व्यवस्थापन गर्ने व्यक्ति रहेको आरोप छ ।
समितिले निगमको सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाव दिएपछि निगमको भलो चिताउने कर्मचारीहरूले मन्त्री किराँतीको हर्कतमा आशंका जनाएका छन् ।
सोल्टी होटल लिमिटेडको सेयर बिक्री गरी प्राप्त हुने रकमलाई नयाँ जहाज खरिदमा प्रयोग गर्न क्षेत्रीले मन्त्री किराँतीलाई सुझाव दिएका छन् ।
न्यारो बडीसहित वाइड बडी जहाज खरिदमा लिइएको ऋणको सावाँ ब्याजसहित ४८ अर्ब रुपियाँ माथि पुगेको छ । ऋणको ब्याज समेत १० प्रतिशतमाथि रहेकाले सस्तो ऋण खोजी पुरानो ऋण तिर्न समितिले सुझाव दिएको छ ।
भरपर्दो तथा सर्वसुलभ भाडामा सेवा प्रदान गर्न र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ विक्रम संवत् २०१५ सालमा स्थापना निगमले व्यावसायिक सफलताका लागि ठूलो सम्भावना भए पनि लगानी र भएको पुँजी सम्पत्तिको समुचित प्रयोगमा कमजोरीका कारणले व्यावसायिकतामा पछि परेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
भएका जहाज ग्राउन्डेड हुने, नयाँ नथप्ने र ऋणमा खरिद गरिएको जहाजको ऋणको भारले निगम झन्झन् कमजोर बन्न पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अहिलेको प्रतिस्पर्धी बजारमा निगमलाई सबल बनाई पुन: प्रतिस्पर्धामा उतार्न जहाजको संख्यासँगै व्यावसायिक सक्रियता बढाउनुपर्ने समितिले जनाएको छ ।
समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययन गरी सुधारका लागि सिफारिस पेश गर्न कार्यादेश प्रदान गरिएको थियो ।
आठ वटा कार्यादेशमध्ये दुई प्रमुख छन् । व्यवस्थापन र संरचनागत सुधार । व्यवस्थापन सुधार अन्तर्गत मुख्यरुपमा पुँजी, ऋण अनुपात अवस्था, सञ्चालनमा रहेका विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधन आदिबारे प्रतिवेदनमा संलग्न भएको छ ।
संरचनागत सुधारमा मुख्य रूपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संशोधन आदि प्रतिवेदनका हिस्सा भएको छ ।
आइतबार समितिले नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको छ ।
निगम घाटामा गए पनि सोल्टी होटलको सेयरबाट राम्रो मुनाफा आइरहेको छ । त्यो मुनाफाप्रति माओवादीका नेता कार्यकर्ता र समर्थकहरूले र्याल चुहाएका छन् । सोल्टीको सेयर बिक्री गरेर जहाज खरिद गरेर आउने कमिशनमा माओवादीले लोभ देखाएको आरोप लागेको छ । सेयर बिक्री गर्न र जहाज खरिदको बहाना बनाउन मन्त्री किराँतीले समिति बनाएर पन्छिन खोजेका छन् ।
नाफामा रहेको कम्पनीको सेयर बिक्री गरेर घाटामा रहेको निगममा लगानी गर्न उकास्ने समितिका संयोजक र सदस्यहरूको भित्री मनासय पनि देखिएको छ । अब निगमको सबै सम्पत्ति बिक्री गरेर मन्त्री किराँतीले के गर्न खोजेका हुन् अनुहार बाहिर आएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया