दश अर्बभन्दा धेरै रकम हिनामिना गरेर भरत युरोप भागे, पत्नीसँग नक्कली डिभोर्स

काठमाडौं । ललितपुरमा मुख्यालय रहेको सुमेरू बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका भरत महर्जन दश अर्बभन्दा धेरै रुपियाँ ठगेर विदेश भागेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन अगाडि महर्जन बेलायत भागेका हुन् । सहकारीमा राखेको बचतकर्ताको पैसा मनोमानी ढंगले निजी अस्पतालका साथै विभिन्न व्यवसायमा लगाएर हजारौंलाई बिल्लीबाठ पारेर महर्जन परिवारसहित बेलायत भागेका हुन् ।
सहकारीको झन्डै साढे १० अर्ब रुपियाँ महर्जनले अपचलन गरेको आरोप छ ।

सहकारीले निकालेको स्वेतपत्रमा महर्जनले सुमेरु सहकारीको पैसा अपचलन गरेर ललितपुरको धापाखेलस्थित सुमेरू अस्पताल, जावलाखेलस्थित सुमेरु सिटी अस्पताल, सुमेरू मेडिकल कलेजलगायतमा लगानी गरेका छन् ।

सहकारीमा राखेर पैसाबाट खोलिएको धापाखेलस्थित सुमेरु अस्पतालको अहिलेको बजार मूल्य २ अर्ब ५२ करोड १० लाख रुपियाँ पर्ने स्वेतपत्रमा उल्लेख छ ।

अस्पतालले चर्चेको जग्गाको क्षेत्रफल १५ रोपनी १३ आना ३ पैसा १ दाम रहेको छ । जग्गाको मूल्य मात्र १ अर्ब ५२ करोडभन्दा बढी पर्ने दाबी गरिएको छ ।

सुमेरु सिटी अस्पतालको अहिलेको बजार मूल्य १ अर्ब ४२ करोड ५० लाख रुपियाँ पर्ने सहकारीको स्वेतपत्रमा उल्लेख छ ।
सुमेरु सहकारीका तत्कालीन अध्यक्ष महर्जनले सहकारी बचतकर्ताको पैसामा राईंदाईं गार्दै अस्पताल, मार्ट, रिसोर्ट, कलेज, ट्राभललगायतका संस्था खोलेका हुन् ।

सहकारीको हिसाब गायब बनाएर सुमेरू नामका अस्पताल खोल्न सफल महर्जन अहिले ३२ हजार बढी बचतकर्तालाई उठिबास लगाएका छन् । हजारौं बचतकर्ताको पैसा कुम्ल्याएर भागेका महर्जन बेलायतमा परिवारका सदस्यहरूसँग मोज गरेर बसेका छन् ।

एमाले र माओवादी केन्द्रका नेताहरूसँग निकट रहेका महर्जनले ठूला नेताहरूसँग फोटो खिचाएर सहकारीमा राखेर बचतकर्ताहरूलाई मुर्गा बनाउने गरेका थिए ।

महर्जनले आफ्नै परिवारभित्रका सयौँ जनाको करीव ५० करोड रुपियाँ सहकारीमा राख्न लगाएर कुम्ल्याएका छन् । सुमेरु सहकारीले २०७९ पुसदेखि बचतकर्ताको बचत फिर्तामा सिलिङ लगाउन थालेको थियो ।

२०७९ सालको मंसिरको चुनाव अगाडि नै महर्जन भागेका हुन् । निर्वाचनको बेलामा चन्दा माग्न आउनेहरू धेरै हुन्छन् भन्दै महर्जनले सहकारीबाट ३०/४० करोड रकम झिकेका थिए ।

त्यहीबेला उनी श्रीमतीको उपचारका लागि भारत गए र बेलायत पुगे । त्यसपछि सोधीखोजी गर्दा खुल्यो, भरतले त करिब साढे २ वर्ष अगाडि श्रीमती राजमायासँग नक्कली डिभोर्स गर्नुका साथै छोराछोरीलाई अंश दिइसकेका रहेछन् ।

श्वेतपत्र अनुसार अहिलेसम्म देखिएका कम्पनी तथा जग्गाको बजार मूल्य ११ अर्ब ४९ करोड देखिएको छ । ४ अर्ब १० करोड ऋण प्रवाह भएको पाइएको छ ।

Published : Friday, 2023 September 29, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया