कांग्रेसद्वारा सरोकारवाला निकायसँग शिक्षा विधेयकमा परामर्श

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेसको संसदीय दलको बैठकमा शिक्षा विधेयक, शिक्षकहरू र मागका विषयमा छलफल भएको हो । सभापति शेरबहादुर देउवाले शिक्षा विधेयकका विषयमा विशेष चासो राखेका छन् ।

कांग्रेसले नेपाल शिक्षक महासंघ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधिसँग परामर्श गरिएको छ ।

प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने बताएका छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।

राहत शिक्षकहरू अहिले पनि आन्दोलनमा छन् । विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । विधेयक संसदको बैठकमा प्रस्तुत हुनेछ ।

Published : Tuesday, 2023 September 26, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया