एमालेका नेताकी कान्छी पत्नीले आत्महत्या गरिन्

काठमाडौं । कालीकोट जिल्लामा गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् ।

आइतबार बिहान गीताले आत्महत्या गरेकी हुन् । उनी सोसेक नेपाल नामक संस्थाको संरक्षणमा थिइन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख (डीएसपी) अर्जुन केसीले संरक्षक कर्मचारीहरू खाना गएका बेला शौचालयको ढोकामा गीता जैसीले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।

डीएसपी केसीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन् । गीतालाई संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएपछि प्रहरीले गम्भीर रुपमा अनुसन्धान गर्ने जनाएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका– ५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी थिइन् । गीतालाई लामो समय शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएको आरोप लागेको छ ।

पतिसँग झगडा परेपछि गीताले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । सान्नीत्रिवेणी– १ लुसा माइत भएकी २५ वर्षीया गीता मानसिक यातनाकै कारणले चार वर्षीय छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएको भोलिपल्ट गीता नेपालगन्जमा भेटिइएकी थिइन् । गीताका श्रीमान् दानबहादुर दैलेख घर भए पनि कालीकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् ।

शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम गर्थे । महिला हिंसा गरेको उजुरी परेपछि एमालेले उनलाई सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको थियो ।

दानबहादुरले पाँच वर्षअघि गीतालाई कान्छी श्रीमतीका रूपमा बिहे गरेर भित्र्याएका थिए । छोरो जन्मिएपछि दानबहादुरले गीतालाई कुटपिट गर्दै हिंसा गर्न थालेका थिए ।

हिंसा हुन थालेपछि दानबहादुरसँग अलग भएर गीता छुट्टै बस्दै आएकी थिइन् । दानबहादुरले गीता र उनका छोरालाई मारिदिने धम्की दिने गरेको आरोप छ ।

न्यायका लागि गीत पटक–पटक प्रहरीसमक्ष पुगेकी थिइन् । गत वर्ष लुसा भिरमा लडेर मरेका उनका बुबालाई मान्छे लगाएर भिरबाट धकेल्न लगाएर हत्या गरेको भन्दै दानबहादुरले फेसबुक म्यासेन्जरमा गीतालाई पठाएको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Published : Monday, 2023 September 25, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया