च्यासलमा सभापति देउवाले दिए नेम्वाङलाई श्रद्धाञ्जलि, कुन दिन दिनेछ सरकारले सार्वजनिक विदा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा सभापति देउवाले फूलमाला अर्पण गरेर श्रद्धाञ्जलि दिएका हुन् । नेम्वाङको शवलाई श्रद्धाञ्जलि दिनका लागि एमालेले पार्टी कार्यालयमा राखेको छ ।

नेम्वाङप्रति एमालेका नेता कार्यकर्ता, शुभेच्छुक, विभिन्न दलका नेता लगायतले श्रद्धाञ्जलि दिएका छन् ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । नेम्वाङको अन्तिम दाहासंस्कारका दिन सार्वजनिक विदा दिने निर्णय पनि सरकारले गरेको छ ।

नेम्वाङका छोराहरू विदेशबाट आउनेवित्तिकै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिनेछ । सम्भवत नेम्वाङको अन्तिम दाहासंस्कार बिहीबार गर्ने तयारी भएको छ । बिहीबारका दिन सार्वजनिक विदाको तयारी भएको बुझिएको छ ।

मंगलबार बिहान १ बजे बालुवाटारस्थित निवासको शौचालयमा नेम्वाङ बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई आफ्न्तले शिक्षण अस्पताल महाराजगञ्जमा लागेका थिए । नेम्वाङलाई चिकित्सकहरूले अस्पतालमा मृत घोषणा गरेका थिए ।

Published : Tuesday, 2023 September 12, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया