सुन काण्डमा पक्राउ परेकाहरूको रिहाइ मागसहित कर्मचारीहरू आन्दोलित

काठमाडौं । पक्राउ परेका कर्मचारीको रिहाइ मागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन् ।

कानूनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरूको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने गरी विभिन्न निकायबाट निरन्तर हस्तक्षेप भएको भन्दै कर्मचारीहरूले आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरूले त्यस्तो हस्तक्षेप पूर्ण रूपमा बन्द नभएसम्म दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसमक्ष निवेदन दिएका छन् ।

मागको सुनुवाइ नभएको तथा कार्य वातावरण झन् बिग्रँदै गएको भन्दै कर्मचारीहरूले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

पछिल्लो समय विमानस्थलको भन्सार पास भई बाहिरिएको तस्करीको ६० केजी सुन पक्राउपछि अनुसन्धानको क्रममा भन्सारका कर्मचारी पक्राउ परिरहेका छन् ।

प्रहरीले विमानस्थलमा कार्यरत कर्मचारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ । छानविन भएपछि विमानस्थलमा कार्यरत सबै कर्मचारी आन्दोलित भएका हुन् ।

Published : Monday, 2023 September 11, 12:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया