मेरो राजनीतिक प्रेरणाको श्रोत वीपी नै हुनुहुन्छ : सभापतिस देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला आफ्नो प्रेरणाको श्रोत भएको बताएका छन् ।
आइतबार सानेपामा आयोजित वीपी सहित्य महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ ।’
उनले भने, ‘यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनु भएन, जतिले पाउनु भयो, जति समय पाउनु भयो उहाँहरूले पक्कै पनि आफ्नो विचारमा, दृष्टीकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ ।’
वीपी कोइरालाको ११०औं जन्म जयन्तीमा स्मरण गर्दै सभापति देउवाले वीपीबाट प्रतिपादन भएका राजनीतिक विचार, साहित्यिक कृतिहरू, वीपीले भोग्नु परेका संघर्षमय जीवन गाथाहरू र वीपीको सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोण लगायतका विधि पक्षमा विशिष्ठ ज्ञान भएका विद्वान वुद्धिजीवीहरूबाट चर्चा वहस गराई आजको युवा पुस्तालाई पनि वीपीका बारेमा गहिरो ज्ञान बाँड्ने महोत्सवको उद्देश्य रहेको बताए ।
उनले भने, ‘वीपी आफैमा वहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ ।’
‘उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिडेका छौँ । मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौ, प्रयत्न गरिरहेका छौं भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टीकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन्’, देउवाले भने ।
‘उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो’, देउवाले भने, ‘हामीले उहाँलाई भेट्दा, उहाँले आफै भन्नु हुनुहुन्थ्यो कि तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु ।’
‘उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ’, उनले भने, ‘सामन्तवादका विरूद्ध तत्कालीन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुबै उहाँले अपूर्ण देख्नुभयो ।’
उनले भने, ‘अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नु भयो साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।’
‘आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको छ’, देउवाले भने ।
‘समयको अन्तरालसंगै आज हाम्रो मुलुक पनि वीपीले देखाएको प्रणालीमा अघि बढेको छ । विभिन्न कारणले स्थायित्व पाएको छैन । नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौं । यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौं’, देउवाले भने ।
‘नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टि र समाजमा देखिएका विभेद विसंगतिलाई वीपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिन सक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू वीच पर्याप्त वहस र छलफल गराउन नसक्नु हाम्रा पनि केहि कमजोरीहरू रहेका छन्’, उनले भने ।
‘वीपी राष्ट्रिय मात्रै होइन अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थो, सबै किसिमका विभेदविरूद्ध आगो ओकल्नु हुन्थ्यो’, देउवाले भने ।
‘समावेशीता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयो’, उनले भने ।
‘अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सवैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुु हुन्थ्यो भने राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरूसँग मीत्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु हुन्थ्यो र निर्णय गराईछाड्नु हुन्थ्यो’, सभापति देउवाले भने ।
‘यस्तो महान व्यक्ति आज हाम्रासामु भौतिक रूपमा नभएपनि उहाँका विचार, सिद्धान्त र साहित्यिक कृतिहरूले हामीलाई मार्ग निर्देश गरिरहेको छ’, देउवाले भने, ‘उपस्थित सबै महानुभावहरूले तीन दिनसम्म यो महोत्सवमा निर्धारित विषयमा गहिरो छलफल वहस गर्नु हुनेछ ।’
देउवाले भने, ‘वैचारिक वहससंगै साहित्यिक साँस्कृतिक र सांगीतिक माहोलमा प्रसिद्ध चित्रकारहरूले कोरेका आकर्षक र मनमोहक चित्रहरू अवलोकन गर्नु हनेछ र आफ्नो जीवनलाई वीपी विचारबाट दीक्षित गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया