औकातभन्दा बढ्ता बोल्ने चिनियाँ राजदूतसँग प्रधानमन्त्री दाहालले स्पष्टीकरण मागे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औकातभन्दा बढ्ता बोल्ने नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग स्पष्टीकरण लिएका छन् ।

शुक्रबार राति बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले राजदूत सोङसँग नेपाल–भारतबीच दिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण लिएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले चिनियाँ राजदूतले केही दिनअघि दिएको अभिव्यक्तिबारे चासो राखेका छन् । राजदूत सोङले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल र भारतको सम्बन्धमाथि गैरकूटनीतिक अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री दाहालले राजदूत सोङसँग नक्सा प्रकरण र आसन्न चीन भ्रमणको बारेमा पनि छलफल गरेका छन् । आफ्नै अभिव्यक्तिबाट आलोचित भएपछि राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका स्रोतको भनाइ छ । नेपाल र भारत मामिलामा गैरकूटनीतिक अभिव्यक्ति दिएपछि राजदूत सोङको विरोध भइरहेको छ ।

राजदूत सोङले नेपाल र भारतबीचको व्यापारमा खलल पुग्नेगरी अभिव्यक्ति दिएपछि उनलाई फिर्ता पठाउनेसम्मको माग उठेको छ ।

संसद बैठकमा पनि यस सम्बन्धमा प्रश्न उठेको छ । नेताहरूले राजदूत सोङसँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्ने बताउँदै आएका छन् ।

त्यसअघि चीनको प्राकृतिक संसाधन मन्त्रालयले छिमेकी मुलुकहरूसहितको मानक नक्सा सार्वजनिक गरेको थियो । चीनको नक्सामा नेपालको संसदबाट पारित भइसकेको चुच्चे नक्सा नसमेटिएपछि चीनको चर्को विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायले नेपालको नक्साको सम्मान गर्नुपर्ने बताएको छ ।

Published : Saturday, 2023 September 9, 12:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया