सह–महामन्त्रीलाई खुकुरी प्रहार भएपछि सभापति देउवा अस्पताल पुगे

काठमाडौं । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले खुकुरी आक्रमणबाट गम्भीर घाइते भएका सह–महामन्त्री महेन्द्र यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार महाबौद्धस्थित ट्रमा सेन्टरमा पुगेर सभापति देउवाले सह–महामन्त्री यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । देउवाले घटनाको भर्त्सना गर्दै यादवको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सह–महामन्त्री यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टस क्लब नेपालबाट निस्कने क्रममा ढोकामा खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहार गर्ने श्याम सापकोटा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई हाल काठमाडौंको बालाजु पैयुटार बस्दै आएका छन् ।

आफूलाई कथित अभियान्ता भनेर चिनाउँदै हिँड्ने सापकोटाले एमसीसीको विरोध र राजसंस्थाको समर्थनमा नारा लगाएका थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2023 September 6, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया