फुर्ति गर्ने प्रहरीलाई निकालिदिँए, चित्त नबुझे सरकार र मन्त्रीलाई भन्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले बताए । उनले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन ।’

‘भारत र चीन नेपालका सधैंका छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ’, देउवाले भने, ‘सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’

सभापति देउवाले सरकार र ब्यूरोक्रेसीबीच एकापसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताएका छन् ।

चुनाव जितेर आएर मन्त्री भइसकेकालाई मन परे पनि नपरे पनि कर्मचारीले मान्नुपर्ने देउवाले बताएका छन् ।

सभापति देउवाले भने, ‘चुनाव जितेर आइसक्यो, मन्त्री भइसक्यो, त्यसकारण कर्मचारीले मन्त्रीका कुरा पनि मान्नुपर्छ ।’

‘मन्त्रीका कुरा कर्मचारीले मानेन भने त उसले पनि निर्णय गर्न सक्दैन’, देउवाले भने, ‘सरकार र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ, कर्मचारीहरू नभए पनि देश चल्दैन । सरकारका कुरा पनि कर्मचारीले मान्नुपर्छ ।’

उनले चित्त नबुझेका कुरा सरकार र मन्त्रीलाई कर्मचारीले भन्नुपर्ने बताएका छन् ।

उनले भने, ‘म भर्खर गृहमन्त्री भएको थिएँ । एउटा प्रहरी अफिसरले यी गृहमन्त्रीहरू कति दिनका हुन्, आउने जाने हुन् । भोलि गइहाल्छन् नि ! भनेका थिए ।’

‘म त आउने जाने गरौंला’ भन्दै आफूले तत्काल नै ती प्रहरी अफिसरलाई निकालिदिएको देउवाले बताएका छन् ।

‘म त जाऔंला तपाईंचाहिँ कहिल्यै आउनुहुन्न भनेर तत्काल निकालिदिएँ’, सभापति देउवाले भनेका छन् ।

‘मन्त्री आउने जाने हुन् हामी हौं भनेर बहुत फुर्ति गर्नेलाई निकालिएको हो’, देउवाले भने, ‘मन्त्रीसँग चित्त नबुझेका कुरा भन्नुपर्छ । यस्तो झगडा संसारभर हुन्छ ।’

Published : Tuesday, 2023 September 5, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया