महामन्त्री गगन थापा समूहको गुटको बैठक ससुराको घरमा, शेखरद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्ना ससुरा समेत रहेका नेता अर्जुन नरसिंह केसीको निवासमा गुटको बैठक राखेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित नेता केसीको निवासमा आइतबार बैठक बसेको थियो । बैठकमा मन्त्री र संसदीय समितिमा भाग नपाएको विषयमा गम्भीर छलफल भएको छ ।

गुटको बैठकमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य प्रदीप पौडेल, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडूलगायतको उपस्थितिमा गुटको बैठक भएको एक नेताले बताएका छन् ।

महामन्त्री थापाले आफ्ना ससुरा केसीको निवासमा राखेको गुटको बैठकमा नेता डा.शेखर कोइराला भने अनुपस्थित रहेका छन् । डा.कोइराला गुटको बैठकमा किन गएनन् ? वा बोलाइएको थियो वा थिएन केही भनिएको छैन ।

गुटको बैठकमा एमालेसँग सत्ता गठबन्धन गरेर जाने विषयमा छलफल भएको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले बताएका छन् । अहिलेको कांग्रेस सम्मिलित सरकारका कामकारबाहीबारे समीक्षा पनि भएको छ ।

गुटको बैठकमा सभापति शेरबहादुर देउवाले आफूलाई राम्रो र आकर्षक मन्त्रालय नदिएको र संसदीय समिति पनि नदिएको भनेर जीवन परियारले गुनासो गरेका थिए । अन्य नेताहरूले सभापति देउवासँग भाग माग्न दवाव दिनुपर्ने धारणा राखेका थिए । अहिलेको गठबन्धन भत्काएर एमालेसँग मिल्नका लागि वातावरण बनाउनुपर्ने विषयमा केही नेताले कुरा राखेको बुझिएको छ ।

नेता डा.कोइरालाले आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा बैठक राख्ने गरेका थिए । बालुवाटारमा महामन्त्री थापा जान असजिलो मान्दै आएका छन् । थापा नेता डा.कोइरालाको निवासमा पनि जान मान्दैनन् । होटल र पार्टी प्यालेसहरूमा गुटका बैठक हुने गरे पनि यस पटक ससुराको घरमा भएको छ ।

Published : Monday, 2023 September 4, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया