कोशी सरकारबारे यस्तो दियो सर्वोच्च अदालतले आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदन सोमबारबाट पूर्ण इजलासमा निरन्तर सुनुवाइ गर्ने भएको छ ।

आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिट निवेदनलाई निरन्तर सुनुवाईमा लैजाने आदेश दिएका छन् ।

मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा भदौ ६ गते रिट निवेदन दायर गरेका थिए ।

रिटको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरुको तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकोमा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुंग्याउने गरी आदेश भएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा न्यायाधीश खतिवडाले उक्त रिटमा आफैंले कारण देखाउ आदेश दिएका कारण पूर्ण सुनुवाइमा बस्न नमिल्ने बताएपछि हेर्न नमिल्नेमा राखिएको थियो ।

साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभाको बैठकमा अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई समेत मतदान गराएर विश्वासको मत लिएपछि एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापाले सोही धाराको उपधारा (४) अनुसार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

Published : Sunday, 2023 September 3, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया