एआईजी र एसएसपीको सरुवा भएको थाहा नपाउने श्रेष्ठको स्टन्ट, असक्षमता लुकाउन धुम्बाराहीलाई दोष

काठमाडौं । नेपाल प्रहरीको एआईजी श्यामलाल ज्ञवाली र एसएसपी मनोज केसीको सरुवा भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले थाहा नपाएको भनेर समाचार आएको रहेछ ।

एआईजी ज्ञवाली र एसएसपी केसी निकट मानिने एउटा वेबपोर्टलले गृहमन्त्री श्रेष्ठलाई सरुवाका बारेमा थाहा नभएको समाचार लेखेको छ । उनीहरूको सरुवा ब्याक डेट राखेर सरुवा गरिएको समाचारमा उल्लेख छ । आफ्नै एआईजी र एसएसपीको सरुवाको भएको थाहा नपाउने पनि गृहमन्त्री हुन्छ भनेर प्रश्न उठेको छ । गृह मन्त्रालय श्रेष्ठले नचलाएर कसले चलाएको रहेछ ? आफ्नै मन्त्रालयका कर्मचारी र प्रहरीको सरुवा भएको थाहा नपाउने श्रेष्ठलाई गृहमन्त्री पदमा बस्ने अधिकार छैन । श्रेष्ठले तत्काल राजीनामा दिएर विदा हुनुपर्छ । हाइन भने गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीको चेनअफ कमाण्ड उल्लंघन र अनुशासनहीन कार्य गरेर जथाभावी समाचार लेखाउनेहरूलाई कारबाही गर्नुपर्छ । आफू निकटका वेबपोर्टलहरूमा बकमफुसे समाचार लेखाउनुको कुनै तुक छैन ।

राम्रा कुराको जस आफू लिने । नराम्रा कुरा र दोषीहरूको भागिदार धुम्बाराही अर्थात नेपाली कांग्रेसलाई बनाउने गृहमन्त्री श्रेष्ठको कार्य गलत छ । यदि एआईजी र एसएसपीको सरुवा भएको थाहा छैन र ब्याक डेट राखेर सरुवा भएको छभने श्रेष्ठले गृहमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्छ । होइन भने कांग्रेसलाई दोष लगाएर कुर्सीमा बस्ने अधिकार छैन ।

नक्कली भुटानी शरणार्थीको दोहोर्‍याएर अनुसन्धान गर्ने भनिएको छ । अनुसन्धान दोहोर्‍याएर हुँदैन । अदालतमा विचाराधीन रहेको यो मुद्दाको अनुसन्धान भनेको पुरक हुने हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआइजी) ज्ञवाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) मनोज केसीलाई सरुवा गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएको वेबपोर्टलको समाचारमा उल्लेख छ । सभापति देउवा वा कांग्रेस नेत डा.आरजु राणाले एआईजी र एसएसपीलाई हटाउन दवाव दिएको दाबी गरिएको छ । उनीहरूले हटाउनै पर्ने थियो भने गृहमन्त्री श्रेष्ठलाई नै हटाउन सक्छन् । जाबो एउटा एआईजी र एसएसपीलाई हटाउने कार्य गर्दैनन् । एक एआईजी र दुई एसएसपीको सरुवा भएको छ ।

आफ्नो पक्षमा समाचार लेखाउने एआईजी ज्ञवाली र एसएसपी केसी तथा गृहमन्त्री श्रेष्ठले के बुझ्न जरुरी छभने कांग्रेसका सभापति देउवा र नेतृ राणाले चाहने हो भने सरकार नै ढाल्न सक्छन् । गृहमन्त्रीलाई नै परिवर्तन गराउन सक्छन् । जाबो एउटा एआईजी र एसएसपीलाई हटाउँदैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एआईजी ज्ञवाली र एसएसपी केसीलाई हटाउन ब्याक डेट राखेर मन्त्रिपरिषदबाट हटाएको भनिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्की पनि सरुवा भएको छ । कार्कीले कहिल्यै पनि कसैका विरुद्ध समाचार लेखाएका छैनन् । कसैका विरुद्ध एसएसपी कार्कीले गुनासो गरेका छैनन् । गृहमन्त्री श्रेष्ठले एआईजी ज्ञवाली र एसएसपीद्वय केसी र कार्कीको सरुवा गर्नुभन्दा पहिला गृह मन्त्रालयमा पटक पटक उनीहरूसँग सरसल्लाह गरेका थिए । गृहमन्त्री श्रेष्ठले एआईजी ज्ञवाली, एसएसपी केसी र कार्कीलाई तपाईहरूको सरुवा गर्न लागेको छु भनेर पूर्वजानकारी गराएका थिए । अहिले आएर गृहमन्त्री श्रेष्ठलाई नै प्रधानमन्त्री दाहालले थाहा नदिएर ब्याक डेट राखेर सरुवा गराएको भनेर कसका लागि र किन समाचार लेखाइएको छ खोजीको विषय बनेको छ ।

एआईजी ज्ञवाली र एसएसपी केसी गृहमन्त्री श्रेष्ठ निकट मानिन्छन् । ज्ञवाली र केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने भनेर टेकु प्रहरी परिसरको हिरासतमा रहेका थुनुवालाई रानीपोखरीमा मध्यरात ल्याएर यातना दिएर बयान लिएको भनेर बाहिर समाचार आएकै हुन् । एआईजी ज्ञवाली र एसएसपी केसीले फलानो फलानोलाई बयानमा नाम पोल भनेर दवाव दिएको आरोप पनि लागेकै हो । गृहमन्त्री श्रेष्ठसँग त्यति निकट रहेका एआईजी ज्ञवाली र एसएसपी केसीको सरुवा ब्याक डेटमा भएको भन्नु पत्यार लाग्ने कुरा होइन ।

Published : Friday, 2023 September 1, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया