प्रचण्डको चीन भ्रमण घोषणा भएकै बेला बेइजिङले चुच्चे नक्सा खाइदियो

काठमाडौं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने बताएकी छिन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषदको निणर्य सार्वजनिक गर्ने क्रममा शर्माले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताइन् ।

उनले भनिन्, ‘यसमा कूटनीतिक ढङ्गले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसदको सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ ।’

‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्‍यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ’, प्रवक्ता शर्माले भनिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको मिति तय भएका बेला चीनले नेपालको चुच्चे नक्सा गायब बनाएर नयाँ नक्सा जारी गरेको छ । चीनले नेपालमाथि निकै दादागिरी देखाइरहेको छ । नेपालमा पछिल्लो समयमा चिनियाँ नागरिकहरूले अपराधका घटनाहरू गरिरहेका छन् ।

मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसदबाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन् ।

उनले भनिन्, ‘संसदको निणर्य जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन, कार्यान्वयन स्वाभाविक ढङ्गबाट हुने नै भयो ।’

व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उनले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताइन् ।

टेलिफोन सेवाका सम्बन्धमा टेरामक्स प्रणालीबारे उठेका प्रश्नका सम्बन्धमा सोधिएको प्रश्नमा उनले हिजोको सरकारको निणर्य भए पनि कार्यान्वयनमा लाने कि नलाने भन्ने आजको विषय भएको बताइन् ।

उनले भनिन्, ‘कार्यान्वयनमा लानुभन्दा पहिला उठेको प्रश्नको उत्तर दिनुपर्छ । उत्तरलाई प्रष्ट पार्नुपर्छ । कुनै पनि नागरिकको आवश्यकताविना फोन ट्यापिङ गरिन्न, कानून र नियमले दिने कुरामा पछाडि हट्दैनौँ ।’

Published : Thursday, 2023 August 31, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया