घरभित्र युवतीसँग नाजायज सम्बन्ध राखेपछि निर्देशक पोखरेलले दु:ख पाए

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाएको छ । पोखरेलले काठमाडौंको सिनामंगलस्थित आफ्नै घरमा काम गर्ने युवतीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेको छ । पीडितको जाहेरीपछि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले पोखरेललाई पुर्पक्षमा पठाउने आदेश गरेको छ । उनीसँगै पीडितलाई धम्क्याउने तथा प्रलोभन देखाउने २ जना धरौटीमा रिहा भएका छन् ।

पीडितलाई धम्क्याउने तथा प्रलोभनमा पार्न खोजेको आरोपमा पक्राउ परेका रामजी भनिने चेतन न्यौपाने र रन्जितकुमार जैसवाललाई अदालतले जनही तीन लाख ५० हजार रुपियाँ धरौटीमा मागेको छ । उनीहरू धरौटी तिरेर रिहा भएका छन् ।

दुवै जनाले पीडितलाई पैसाको प्रलोभन गर्नुका साथै पीडकको तर्फबाट जे पनि हुन सक्ने भन्दै धम्क्याएका थिए । सोही आधारमा पीडितले दुवै जनाविरुद्ध समेत प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यसरी प्रलोभन पार्ने र धम्की दिने २ जना भने फरार छन् । मुद्दा फितलो बनाउन र मिलापत्र गर्न प्रयास गरेका भोजराज रेग्मी र अमन तामाङ फरार भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने युवतीलाई काममा गएको बेला पटक–पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेका थिए ।

माफी मागेपछि पीडित युवतीले पोखरेललाई एक पटक माफ दिएकी थिइन् । पोखरेलले हरकत दोहोर्‍याइरहेपछि बाध्य भएर प्रहरीमा उजुरी दिएको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितले माइती नेपालको सहयोगमा असार १८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले साउन १२ गते पक्राउ गरेको थियो ।

Published : Wednesday, 2023 August 30, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया