धरानको घटनाप्रति सभापति देउवा चिन्तित, अदृश्य शक्तिहरूको गतिविधिबाट सचेत रहन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधिको पक्षमा नलाग्न अपील गरेका छन् ।

शनिबार सभापति देउवाले अपील जारी गरेर धरानमा शान्ति कायम गर्न आग्रह गरेका छन् । उनले धार्मिक र सामाजिक सद्भाव भड्काउँदा समाजमा मिलेर बसेको समुदायलाई हानी हुने बताए ।

उनले भने, ‘नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन ।’

‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो’, देउवाले भने ।

‘यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपील गर्दछ’, सभापति देउवाले भनेका छन् ।

केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेसले गम्भीर चिन्ता प्रकट गरेको देउवाले बताएका छन् ।

उनले सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपील गरेका छन् ।

‘परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं’, उनले भने ।

‘नेपालको कानूनले हरेक ब्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन’, उनले भने ।

‘कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन’, सभापति देउवाले भनेका छन् ।

Published : Saturday, 2023 August 26, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया