हर्कराज राईको अहँकार र दम्भले भित्रभित्रै धरान छियाछिया, समाज विभाजन हुन थाल्यो

काठमाडौं । धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफूलाई दम्भ, अहँकार र निरंकुश शैलीमा प्रस्तुत गरिरहेका छन् ।

उनका अभिव्यक्ति, कार्यशैलीहरू निकै नै अहँकारी, निरंकुश, अव्यवहारिक हुने गरेका छन् । उनले बेलाबेला समाज विभाजन हुने खालका अभिव्यक्ति दिएर आतंक मच्चाउने गरेका छन् ।

राईले गरेका केही कामहरू राम्रा र सकारात्मक छन् । उनको कामको सबैले प्रशंसा गरेकै छ । राईले आफूलाई हिटलरका रुपमा प्रस्तुत गर्न खोजेको आरोप छ । धरानका जनता सबै राईको पक्षमा छैनन् । हो उनले जितेका हुन् । विपक्षीको पनि कुरा सुन्नु लोकतन्त्रको धर्म हो । होइन भने निरंकुशता ल्याए भइहाल्छ ।

धरानमा हिन्दुको मन्दिर नजिकै चर्च बनाउने कुरा, व्यक्तिको जमीनमा वृक्षा रोपण, सेवाग्राहीलाई धम्काउने, थर्काउने, राजनीतिक दलहरूसँग समन्वय नगर्ने, सीडीओ र प्रहरीलाई धम्की दिने, वडाध्यक्ष र सदस्यहरूसँग परामर्श नगर्ने, प्रतिनिधि सभा र प्रदेश सांसदहरूको मानमर्दन आदि गलत कुरा हुन् । राईले आफूलाई सर्वेसर्वा ठान्ने गरेका छन् । उनको यो अहँकारबाट धरानका जनता आजित हुन थालेका छन् ।

नगरप्रमुख राईले हिन्दुको मन्दिर नजिकै क्रिश्चियनलाई पूर्वअनुमति नलिएर किन चर्चा बनाउन दिए ? प्रश्न उठेको छ । राईले हिन्दु र बौद्ध धर्मप्रति आफूलाई विरोध देखाउन खोजेका छन् । राईले क्रिश्चियनहरूलाई संरक्षण गरेको आरोप लागेको छ ।
धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नगरप्रमुख राईले सामाजिक सदभाव खलबलिने यो कार्यलाई नियन्त्रण गर्नुपर्छ कि पर्दैन ? कानून र संविधानले बर्जित गरेको कामलाई नगरप्रमुख राईले रोक्ने दायित्व हो ।

धरान उप–महानगरपालिकाभित्रका गलत कुराहरू पनि बाहिर आइरहेका छन् । यस्ता कुरालाई रोकथाम र नियन्त्रण गर्न नगरप्रमुख राईले समन्वय गरेका छैनन् । उनले स्टन्ट गरेर हिरो कसरी बन्न सकिन्छ ? त्यसतर्फ मात्रै आफूलाई केन्द्रित गाउने गरेका छन् ।

नगरप्रमुख राईले सामाजिक सञ्जाल र यूट्युबलाई निकै दुरुपयोग गरिरहेका छन् । कुनै पनि काममा जाँदा पालेर राखेका यूट्युबलाई लिएर जाने गरेका राईले जथाभावी बोल्ने गरेका छन् । आफू निकटका यूट्युबमा विरोधीको खुलेर आलोचना गर्ने गर्छन् । विरोधीको कुरा पनि सुन्दैनन् ।

सामाजिक सञ्जालमा राईले लेखेका छन्, ‘मैले यो कुर्सी बिरासतमा पाएको होइन ! सार्वभौम धराने जनताले काम गर्न पठाएको मान्छे हो म ! एक पैसा भ्रष्टाचार गर्दिन ! अनावश्यक कुरा लिएर आउँछ भने कोही कसैलाई टेर्दिन ! हो म यस्तै छु ! यतिको मेयर चाहिन्छ धरानलाई ! चानचुनेले हुँदैन !’

नगरप्रमुख राईले आफूलाई चानचुने होइन भनेका छन् । उनी यो संसारकै शक्तिशाली र नमूना व्यक्ति होलान् । तर, उनको अहँकार र दम्भले एकदिन नोक्सान नै गर्नेछ ।

राईले धरानका जनतालाई आफू जत्तिको र जस्तै नगर प्रमुख चाहिने बताएका छन् । धरानका जनताले निरंकुश, अहँकारी, दम्भ भएको नगर प्रमुख खोजेका होइनन् । जति नै शक्तिशाली भए पनि जनताले चाहे भने कुर्सीबाट फाल्न सक्छन् ।

Published : Thursday, 2023 August 24, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया