सजाय काटेर आएकाहरूको पुलिस रिपोर्टमा देखिएको समस्या हटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विभिन्न अपराधमा सजाय काटाएर बाहिरिएका व्यक्तिहरूको पुलिस रिपोर्ट लिँदा देखिएको समस्या समाधानक विषयमा गम्भीर बन्न गृह मन्त्रालयसँग आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमा विशेष समय लिएर बोल्दै कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले पुलिस रिपोर्ट लिँदा विभिन्न समयमा भएका घटना वा अपराधको सजाय काटेको विषयमा उल्लेख हुँदा कठिनाइ भएको जनाएका हुन् ।

उनले भने, ‘नेपालमा विभिन्न चरणमा, विभिन्न घटनामा दोषी करार गरी अभियोग लगाएका व्यक्तिहरूलाई चाहे सीडीओमार्फत होस्, चाहे अदालतमार्फत होस् । मुद्दाको किराना लागिसकेपछि प्रहरीको रेकर्डमा तिनीहरू दोषी ठहरिएको र निर्दोष भइसकेपछि उनीहरूलाई प्रहरीको चारित्रिक प्रमाणपत्र चाहिने सन्दर्भमा पुरानो रेकर्डले गर्दा पुलिस रिपोर्ट सहज ढंगले पाउन नसकेको अवस्था छ ।’

‘यसमा गृह मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछु । तत्काल यो विषयलाई गृह मन्त्रालयले समाधान गर्न प्रयास गरोस्’, सांसद भण्डारीले भनेका छन् ।

जेल सजाय काटेर बाहिर आएका व्यक्तिको हकमा पुलिस रिपोर्ट लिने क्रममा पुलिस रिपोर्टमा सजाय काटेर आएको भनेर प्रहरीले लेखिने गरेको छ । यसले गर्दा उनीहरूलाई समस्या हुने गरेको छ ।

Published : Wednesday, 2023 August 23, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया