कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा अन्तरकलह

काठमाडौं । नेपाली कांगे्रसले पार्टी कमजोर वा शिथिल भएको महसुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले पार्टीको नीति र नेतृत्वविरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर भएको जनाएको छ ।

कांग्रेसले पार्टीभित्र र बाहिरबाट फैलाइएका नीति र नेतृत्वविरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको भनेको छ । पार्टी कमजोर वा शिथिल भएको महसुस हुन थालेको पाइएको जनाएको छ ।

अभियानका क्रममा विपक्षीहरूले फैलाएका राजनैतिक एवं अन्य विभिन्न भ्रमहरु चिर्दै कांग्रेसले लिएको नीतिका कारण निर्वाचनमा पहिलो पार्टी बनेको यथार्थ विवरण पार्टीका जिल्ला मातहतमा बुझाउने काम भएको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार प्रसार विभागका प्रमुख मीन विश्वकर्माले बताएका छन् ।

आफू विजयी बन्न कोशिस गर्दा त्यसबाट उत्पन्न हुने विभिन्न समूह उप–समूहको निरन्तरता र अस्वस्थ प्रतिस्पर्धाले दल सञ्चालनमा देखिने असंगठित गतिविधि र चुनौतीहरू साँच्चै जटिल बन्दै गएको वास्तविकता प्रकट भएको उनले बताए ।

विश्वकर्माले कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा अन्र्तकलह, सांगठनिक अव्यवस्था र नेतृत्वको बेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेताहरूको बुझाइ रहेको पनि बताएका छन् । विश्वकर्माले पार्टीबारे सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृति बढ्दा यसले पार्टी पंक्तिमा निराशा फैलिएको अवस्थामा अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको बताएका छन् ।

उनले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायमा कांग्रेस कार्यक्रम स्थगित भएको बताएका छन् ।

‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यहरूलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाएको थियो ।

Published : Tuesday, 2023 August 22, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया