म कुनै पनि पुरुषभन्दा कम छैन, गल्ती गरेको छैन, ब्याटलको लागि तयार छु : डा.आरजु राणा

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफूले कुनै पनि गल्ती नगरेको बताएकी छिन् ।

सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ५ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै डा.राणाले कैलालीका जनताले दिएको २२ हजार मतको सम्मान गरेर बसेको बताएकी छिन् । उनले आफूबाट कहिल्यै पनि गलत काम नहुने बताइन् ।

उनले कैलालीका जनताले आफूलाई एक पटक भोट हालेर २२ हजार मत दिएर उच्च सम्मान दिएको भन्दै त्यो सम्मानलाई सधैं स्मरण गर्ने बताइन् ।

‘मैले भन्नुपर्छ । मैल कुनै गल्ती गरेको छैन । मैले गर्दैन पनि । राजनीति हो । राजनीतिमा यस्तो षड्यन्त्र हुँदो रहेछ । र, यो षड्यन्त्र आउँछ भनेर मलाई थाहा थियो’, उनले भनिन् ।

‘जुन दिन यहाँबाट चुनाब उठ्ने ठहर गरेको थिएँ । २०७४ सालमा । त्यही दिन आफूलाई सम्झाएको थिएँ । आरजु देउवा तिमी फिल्डमा उत्रियौँ’, डा.राणाले भनिन्, ‘कुनै पनि युद्धको लागि, कुनै पनि ब्याटलको लागि तयार भएर बस भनेर मैले आफैलाई भनेको थिएँ । र, म कुन पनि ब्याटलको लागि तयार छु ।’

‘म कुनै पनि पुरुषभन्दा कम छैन । म मातृशक्तिमा विश्वास गर्ने महिला हुँ । मैले कुनै पनि नराम्रो काम सोँचेको छैन । गरेको पनि छैन । म गर्ने वाला पनि छैन’, डा.राणाले भनिन् ।

‘सानो बच्चामा जे सिकाइन्छ त्यही सिक्ने हो । पाँच वर्षमा मलाई मेरो बाबा, मेरो आमा, मेरो बज्यैले सिकाएको छ, मेरो मनमा त्यही हो’, उनले भनिन्, ‘६० क्रस गरेर पनि मेरो मन चेञ्ज हुने वाला छैन । म सत्यमा विश्वास गर्छु । म गीतामा विश्वास गर्छु ।’

‘म यही रुपले जीवन अगाडि बढाएको छु । त्यही रुपले बढाउनेवाला छु । मलाई जसले जे भनेपनि भनिरहोस् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’, डा.राणाले भनेकी छिन् । उनले भनिन्, ‘म आफ्नो यात्रा, मेरो सामाजिक यात्रा, राजनीतिक यात्रा, मेरो धार्मिक यात्रा अगाडि बढेको बढैछु । दायाँ बायाँ केही पनि हुनेवाला छैन ।’

‘द्ववापर र त्रेतायुगमा रामायण र महाभार भयो । द्रोपतीलाई बेइज्जत गरे । सीतालाई चरित्र हत्या गरियो । मत को हुँ र ? यो त कलीयुग हो । आउँछ जान्छ । महिला साथीहरू राजनीतिमा आउनुभएको छ’, उनले भनिन्, ‘महिलालाई राजनीति गर्न गाह्रो छ । पब्लिक फिल्ड हो । हामी जहिले पनि घरभित्र बस्ने, सानो परिवेशमा बस्ने महिलाहरूलाई बाहिर खुलामा आउँदा अवश्य चुनौतीहरू आउँछ ।’

‘महिलालाई घरबाट बाहिर आउन कसरी गाह्रो छ । महिला सशक्त बन्दा के के कुरा लुकाउनु परेको छ । कति गाली खाएँ । कति सपोर्ट पाएँ’, डा.राणाले भनिन्, ‘तैपनि अगाडि बढेँ भन्ने सबैको कहानी छ । यो कहानीबाट म पनि बलियो हुन्छु । तपाईहरू पनि बलियो हुनु होस् ।’

कांग्रेस नेतृ डा.राणाले पार्टीभित्रको मनमुटावलाई आपसी सम्वाद गरेर मिलाउनुपर्ने बताएकी छिन् । उनले घरभित्रको मनमुटावलाई तल नै सम्वाद गरेर मिलाउनुपर्ने बताइन् ।

‘नेपाली कांग्रेसका कार्यकर्ता सबैभन्दा असल छन् । मैले धेरै पार्टीसँग संगत गरेको छु । हामीभित्र जति पनि झगडाहरू छन् ती साथीहरूले भित्रै मिलाऔँ’, उनले भनिन्, ‘हामी मानव हौँ । हामीमा आपसी द्वन्द्व हुँदैन भन्ने कुरै छैन । सत्ययुग र त्रेतायुगमा पनि दाजुभाइको झगडा रहेछ ।’

उनले भनिन्, ‘श्रीमान् र श्रीमतीको झगडा त्यही बेला पनि रहेछ । अहिले नहुने कुरै छैन । भित्रै मिलाऔँ ।’

नेतृ डा.राणाले भनिन्, ‘पार्टीको विधि, विधानमा बसौँ । सभापति भनेको सभापति हो । चुनिएर सिटमा आएको मान्छेले संगठन विगार्न भूमिका खेल्दैन । किन भने भोलि संगठनमा उ चुनिएर आउँछ भन्ने आशा छ ।’

‘संगठनलाई मजबुद बनाउने काम हामीले गरौँ । साना साना कुरालाई तलै कुरा गरेर मिलाऔँ । कहिले काहिँ पार्टीलाई ठीक ठाउँमा ल्याउनको लागि सभापतिहरूले निकाल्ने एक्सनलाई हामीले सपोर्ट गर्नुपर्छ’, उनले भनिन्, ‘नत्र पार्टी छिन्नभिन्न हुन्छ । हाम्रो घरभित्र पनि आमाले गाली गर्दा बाबाले काखी च्याप्ने भयो भने त्यो बच्चाबच्ची कस्तो हुन्छ ? बिग्रेर जान्छ । जस्तो हाम्रो घर छ, त्यस्तै हाम्रो पार्टी हो । हाम्रो माया र ममता यहिँ छ । हाम्रो लक्ष्य एउटै छ ।’

उनले अपराधिक क्रियाकलापहरू घरबाटै हुने हुँदा सचेत हुन जरुरी रहेको बताइन् ।

Published : Monday, 2023 August 21, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया