ओलीद्वारा एमालेमा विद्यादेवी भण्डारीलाई ढोका बन्द, प्रचण्डको राजीनामा माग

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको बताए । ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो । उहाँले आफैं राजीनामा गर्नुपर्ने हो’, ओलीले भने ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको बताए ।

‘राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं कि नवौं आश्चर्य भन्नुपर्छ’, ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हल्लाएर हिंड्नअप्ठ्यारो लाग्नुपर्ने होइन ?’

साउन २ गते काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य भएको बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई ओली आफूले पनि भेटेको बताए । ओलीले भण्डारीलाई राष्ट्रपति बन्नुअघि पार्टीको उपाध्यक्ष नै रहेकाले भेट्नु स्वाभाविक भएको बताए ।

‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि’, ओलीले भने, ‘विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नुभएको छ ।’

उनले भने, ‘यस्तो विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे त, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ ।’

ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए ।

ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए । ‘सभापति उहाँहरूकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, ‘यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ ।’

उनले भने, ‘सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’

‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलीय गठबन्धन अगाडि आउँछ’, ओलीले भनेका छन् ।

ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् । ओलीले गृहमन्त्री असफल भइसकेको बताए । रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए ।

‘गृहमन्त्रीले त रोष्ट्रममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, उनले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’

Published : Sunday, 2023 August 13, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया